सिरहा । सुनसरीको देवानगञ्ज र सिरहाको गोलबजारमा आन्दोलनका क्रममा प्रहरीको गोली लागेर मृत्यु भएकाहरूको सम्झनामा आयोजित श्रद्धाञ्जली कार्यक्रम प्रतिनिधिसभा सदस्य तपेश्वर यादवको भड्काउपूर्ण अभिव्यक्तिपछि बिथोलिएको छ।
गोलबजार उद्योग वाणिज्य संघको आयोजनामा गरिएको कार्यक्रममा ढिलो गरी पुगेका सांसद यादवले पुराना दलहरूकै कारण आन्दोलन भड्केको आरोप पटक-पटक दोहोर्याएपछि स्थिति तनावग्रस्त बनेको हो।
उनले एक ठाउँको झगडालाई पुराना दलहरूले साम्प्रदायिक रङ्ग दिएर भड्काएको भन्दै राजनीतिक रोटी सेक्न खोजेको आरोप लगाएका थिए। कार्यक्रमका अन्तिम वक्ताका रूपमा बोलिरहेका सांसद यादवले राम्रा काम जति आफ्नो दलले गरेको र खराब जति सबै पुराना दलका कारण भएको भन्दै अभिव्यक्ति दिएपछि स्थानीय दलका प्रतिनिधि र व्यवसायीहरू आक्रोशित बनेका हुन्।
उनको अभिव्यक्तिपछि होहल्ला भएपछि सांसद यादव बोल्दाबोल्दै कार्यक्रम छाडेर बाहिरिनुपर्ने अवस्था सिर्जना भएको थियो। त्यसपछि उनलाई प्रहरीले सुरक्षा दिएर कार्यक्रमस्थलबाट अन्यत्र लगेको थियो।

साउन १४ गतेदेखि बन्द रहेका पसलहरू आजको श्रद्धाञ्जली कार्यक्रमपश्चात् खोल्ने सहमति भएको थियो। स्थानीय सबै समुदायका व्यवसायी, नागरिक समाज, जनप्रतिनिधि र राजनीतिक दलको प्रयासमा यो कार्यक्रम राखिएको भए पनि बिथोलिएपछि वातावरण पुनः अन्योल बनेको छ।
श्रद्धाञ्जली सभालाई राजनीतिक मञ्च बनाइएकोमा स्थानीय व्यवसायीहरूले खिन्नता प्रकट गरेका छन्। ‘हामी सबै मिलेर यहाँको अवस्था साम्य बनाउँदै जाने र सबै समुदायले सहज रूपमा व्यवसाय गर्ने वातावरण बनाउने सोचमा थियौँ,’ एक व्यवसायीले भने, ‘तर राजनीतिक रङ्गले गर्दा सबै बिथोलिन पुग्यो। यसले झन् अन्योल र असहज महसुस भइरहेको छ।’

कार्यक्रममा अर्की सांसद समिना खातुनले भाइचारा बिगार्न खोज्नेहरूलाई समयमै चिन्नुपर्ने बताइन्। ‘म पहाडकी छोरी हुँ, सिरहामा विवाह भएर आएकी छु। मैले माइती र घर दुवैतिर कति मिलेर बसेको देखेकी छु,’ उनले भनिन्, ‘यहाँ कसले हामीलाई धर्म, जात र रङ्गको आधारमा जुधाइरहेको छ, त्यो हामीले समयमै पहिचान गर्नुपर्छ।’
त्यस्तै संविधानसभा सदस्य जगतप्रसाद यादव, नेपाल कम्युनिस्ट पार्टीका नेता रामचन्द्र सिंह, नेपाली काङ्ग्रेसका चन्द्रदेव यादव, गोलबजार नगरपालिका-६ का वडा अध्यक्ष संजित लामा, व्यवसायी विक्रम साह र गोलबजार नगरपालिका स्वास्थ्य शाखाका सरोज कर्णले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरे। उनीहरूले मृतकका परिवारलाई उचित क्षतिपूर्ति दिनुका साथै आगजनी, तोडफोड र लुटपाटबाट पीडित व्यवसायीलाई राहत दिन सरकारसँग आग्रह गरे।
मान्छे मारेर हिन्दुराज्य घोषणा नहुने भन्दै उनीहरूले यस्ता माग राख्ने समूहलाई वैकल्पिक बाटो अपनाउन सुझाव दिए। ‘मान्छे मारेर हिन्दुराष्ट्र घोषणा हुन्छ? हुँदैन,’ उनीहरूले प्रश्न गर्दै भने, ‘अहिले दुई तिहाइ नजिकको सरकार छ, त्यहीँ गएर आफ्नो माग जोडदार ढङ्गले राख्नुहोस्।’