पर्सा । पर्सा प्रहरीले हवाई इन्धन चोरी गर्दै गरेको अवस्थामा ७ जना व्यक्तिलाई पक्राउ गरेको छ ।
प्रहरीले गैरकानुनी रुपमा ट्याङ्करबाट हवाई इन्धन निकाल्दै गरेको अवस्थामा उनीहरुलाई नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक (डीएसपी) चक्रबहादुर मल्लका अनुसार विशेष सूचनाका आधारमा वीरगंज महानगरपालिका–१४ स्थित सौदागर आयलमा छापा मारि गरिएको थियो ।
छापा मार्ने क्रममा ना ७ ख १५३९ नम्बरको ट्याङ्करबाट हवाई इन्धन चोरी गरिरहेको अवस्थामा ७ जना व्यक्तिसहित उक्त ट्याङ्कर नियन्त्रणमा लिइएको डीएसपी मल्लले जानकारी दिए । प्रहरीले करिब ३ घण्टासम्म सञ्चालन गरेको कारबाहीका क्रममा उनीहरुलाई रंगेहात पक्राउ गरेको जनाएको छ । पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
पक्राउ परेकाहरुले यसअघि पनि कति पटक इन्धन चोरी गरेका थिए भन्ने विषयमा अनुसन्धानपछि विस्तृत विवरण सार्वजनिक गरिने जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।