काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री विपिनकुमार आचार्यले संसदीय सुधार समिति गठन गर्न माग गरेका छन् । सोमबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै आचार्यले संसदीय सुधार समिति गठन गर्नका लागि सभामुखको ध्यानाकर्षण गराएका हुन् । संसदीय अभ्यास कर्मकाण्डी भएको भन्दै उनले एक पटक सबै सांसदहरूबिच सर्वेक्षण गर्नुपर्ने धारणा राखे ।
‘मेरो जस्तै बुझाइ धेरै सांसदहरूको पनि हो भने यो संसदीय अभ्यास सुधारका लागि सबैले मिलेर काम गर्नुपर्छ। मिल्छ कि मिल्दैन मलाई थाहा छैन, तर एउटा ‘संसदीय सुधार समिति’ बनाएर अहिलेको यो संसद्लाई कसरी बढी सिर्जनशील, उपयोगी र प्रभावकारी बनाउने भन्ने दिशामा एक पटक काम गर्नुपर्छ जस्तो लाग्छ। यसमा मैले सम्माननीय सभामुख महोदयको ध्यानाकर्षण गराएँ’, आचार्यले भने ।
संसदीय अभ्यासबाट सांसदहरू खुशी छन् कि छैनन् भन्ने विषयमा प्रश्नहरू पनि उठाए । प्रश्न गर्दै उनले भने- ‘एक पटक सबै सांसदहरूबिच सर्वेक्षण (पोलिङ) गर्नुपर्छ । के हामी सबै सांसदहरू अहिलेको संसदीय अभ्यासबाट खुसी छौँ त ? के हाम्रो क्षमतालाई अहिलेको संसदीय अभ्यासले सदुपयोग गरेको छ त ? यदि छ भने त मलाई समस्या छैन ।’