वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले हुण्डी कारोबार तथा स्रोत नखुलेको रकमसम्बन्धी विवरण लामो समयसम्म सार्वजनिक नगरेको विषयमा प्रश्न उठेको पाँच दिन नबित्दै ५२ लाख ५० हजार रुपैयाँ बरामद गरेको घटना सार्वजनिक गरेको छ। यसले पर्सा प्रहरीको सूचना प्रवाह र पारदर्शितामाथि थप प्रश्न खडा गरेको छ।
पाँच दिनअघि सार्वजनिक गरिएको समाचारमा “तीन महिनादेखि हुण्डी बरामदको विवरण सार्वजनिक छैन, जिल्ला प्रहरी कार्यालय पर्सामाथि बढ्दै प्रश्न” भन्दै प्रहरीसँग हुण्डी नियन्त्रणसम्बन्धी कारबाही, बरामद रकम र अनुसन्धानको प्रगति सार्वजनिक गर्न माग गरिएको थियो।
त्यसको केही दिनपछि पर्सा प्रहरीले वीरगञ्ज महानगरपालिका–१०, आदर्शनगरबाट स्रोत नखुलेको ५२ लाख ५० हजार रुपैयाँसहित चार जनालाई पक्राउ गरिएको विवरण सार्वजनिक गरेको छ।
प्रहरीका अनुसार दुईवटा मोटरसाइकलमा सवार उनीहरूलाई जाँच गर्दा उक्त रकम फेला परेको हो। पक्राउ पर्नेमा भारतको सीतामढीका २६ वर्षीय सुरज कर्ण, बाराको प्रसौनी गाउँपालिका–१ का ३२ वर्षीय उपेन्द्र साह, सोही स्थानका २६ वर्षीय सागरकुमार सर्राफ र पर्साको विन्दबासिनी गाउँपालिका–१, झौवागुठीका २५ वर्षीय राहुलकुमार गुप्ता छन्।
प्रहरीले सुरज कर्णको साथबाट १ लाख, उपेन्द्र साहबाट १८ लाख १६ हजार, सागरकुमार सर्राफबाट १८ लाख ३४ हजार र राहुलकुमार गुप्ताबाट १६ लाख रुपैयाँ बरामद भएको जनाएको छ।
तर प्रश्न अझै उस्तै छ—तीन महिनासम्म विवरण कहाँ थियो?
पर्सा प्रहरीको पछिल्लो कारबाही सार्वजनिक भएपछि अहिले मुख्य प्रश्न पक्राउ परेका चार व्यक्ति वा बरामद रकम मात्र नभई यसभन्दा अगाडिका तीन महिनामा भएका कारबाहीको विवरण किन सार्वजनिक गरिएन? भन्ने बनेको छ।
यदि प्रहरी सक्रिय रूपमा हुण्डी तथा स्रोत नखुलेको रकमविरुद्ध कारबाही गरिरहेको थियो भने त्यसको जानकारी सञ्चारमाध्यम र सर्वसाधारणलाई नियमित रूपमा किन दिइएन? र यदि त्यस्तो कारबाही भएको थिएन भने खुला सीमाबाट हुने भनिएको ठूलो आर्थिक कारोबार नियन्त्रणका लागि प्रहरीको वास्तविक रणनीति के थियो?
समाचार आएपछि मात्रै सूचना प्रवाह सक्रिय भएको हो?
पाँच दिनअघि तीन महिनादेखि हुण्डीसम्बन्धी विवरण सार्वजनिक नभएको विषयमा समाचार प्रकाशित हुनु र त्यसपछि ५२ लाख ५० हजार रुपैयाँसहित चार जना पक्राउ परेको विवरण सार्वजनिक हुनुले प्रहरीको सूचना व्यवस्थापनमाथि थप जिज्ञासा पैदा गरेको छ।
यसलाई संयोग मान्ने कि सूचना सार्वजनिक गर्ने दबाबपछि प्रहरी सक्रिय भएको हो भन्ने प्रश्नसमेत उठ्न थालेको छ। यद्यपि पछिल्लो घटनाको पक्राउ र बरामद रकमबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।
हुण्डी नियन्त्रण कि तथ्याङ्क लुकाउने प्रवृत्ति?
वीरगञ्ज–रक्सौल सीमा क्षेत्र हुण्डी कारोबारका लागि संवेदनशील क्षेत्रका रूपमा चिनिन्छ। यस्तो क्षेत्रमा प्रहरीले गर्ने कारबाहीको नियमित तथ्याङ्क सार्वजनिक हुनु पारदर्शिताका लागि महत्वपूर्ण मानिन्छ।
तर बरामद रकम, पक्राउ परेका व्यक्ति, मुद्दाको अवस्था र अनुसन्धानको प्रगति लामो समयसम्म सार्वजनिक नहुँदा प्रहरीको कामकारबाहीमाथि स्वाभाविक रूपमा प्रश्न उठ्ने गरेको छ।
स्थानीय व्यवसायी तथा सरोकारवालाले प्रहरीसँग पछिल्लो तीन महिनामा हुण्डी तथा स्रोत नखुलेको रकमसम्बन्धी भएका सम्पूर्ण कारबाही, बरामद रकम, पक्राउ संख्या र अनुसन्धानको अवस्थाको विवरण सार्वजनिक गर्न माग गरेका छन्।
प्रहरीले ५२ लाख ५० हजार रुपैयाँसहित चार जनालाई पक्राउ गरेको घटना सकारात्मक कारबाहीका रूपमा देखिए पनि यसले विगत तीन महिनाको मौनताको प्रश्न भने मेटाउन सकेको छैन।