वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साका नवनियुक्त प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईले पर्साका राजनीतिक दलका प्रमुख तथा पदाधिकारीहरूसँग परिचय तथा भेटघाट गरेका छन्।
जिल्लाको शान्ति सुरक्षा, अपराध नियन्त्रण तथा समसामयिक सुरक्षा चुनौतीका विषयमा छलफल गर्ने उद्देश्यले आयोजित भेटघाट कार्यक्रममा पर्साका विभिन्न राजनीतिक दलका नेता तथा पदाधिकारीहरूको सहभागिता रहेको थियो।
भेटघाटका क्रममा एसपी भट्टराईले जिल्लाको शान्ति सुरक्षा कायम गर्न राजनीतिक दल, नागरिक समाज तथा स्थानीय सरोकारवालासँग आवश्यक समन्वय र सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
जेनजी आन्दोलनपछि गठन भएको नयाँ सरकारले जिल्लाको शान्ति सुरक्षालाई विशेष प्राथमिकता दिएको र सोहीअनुसार अनुभवी प्रहरी अधिकृतलाई जिल्लाको नेतृत्वको जिम्मेवारी दिइएको बताइएको छ।
एसपी भट्टराईले पर्साको सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन राजनीतिक दलका नेतृत्वसँग निरन्तर समन्वय गर्दै अघि बढ्ने बताएका छन्। उनले जिल्लामा शान्ति सुरक्षा कायम राख्न सबै पक्षको सहयोग आवश्यक रहेको समेत उल्लेख गरे।
भेटघाटमा सहभागी राजनीतिक दलका नेताहरूले पनि जिल्लाको सुरक्षा अवस्था सुधार तथा अपराध नियन्त्रणका लागि प्रहरी प्रशासनसँग आवश्यक सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन्।