वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाको नर्सरीबाट ठूलो संख्यामा बिरुवा निकालिएको घटनाले महानगरको हरियाली अभियान, नर्सरी व्यवस्थापन तथा आफूलाई समाजसेवीका रूपमा प्रस्तुत गर्दै आएका केही व्यक्तिको भूमिकामाथि गम्भीर प्रश्न उठाएको छ।
महानगरपालिकाको नर्सरीबाट फेक्सीटल पाम ४० थान, सत्साल ३० थान र गुलमोहर ५० थान गरी कुल १२० थान बिरुवा निकालिएको विवरण सार्वजनिक भएको छ। नर्सरीका संरक्षक राजु चौधरी र कृष्ण दास सरभङले महानगरपालिकामा पेश गरेको लिखित स्पष्टीकरणमा ताल्चा लगाइएको अवस्थामा पनि बिरुवा निकालेर लगिएको उल्लेख गरिएको छ।
स्पष्टीकरणमा आदर्शनगरस्थित पानीटंकीको उत्तरपट्टि रहेको नर्सरीबाट साउन २१ गते बिरुवा निकालिएको र ग्रीन सिटी सामुदायिक सेवा केन्द्रसँग सम्बन्धित एक अटो चालकले बिरुवा लगेको दाबी गरिएको छ।
यस घटनाले महानगरपालिकाको नर्सरीबाट बिरुवा कसको अनुमति र निर्देशनमा निकालियो भन्ने प्रश्न थप गम्भीर बनाएको छ। महानगरको सम्पत्ति मानिने बिरुवा निकाल्न औपचारिक अनुमति लिइएको थियो वा थिएन भन्ने विषयमा समेत स्पष्टता आवश्यक देखिएको छ।
यसैबीच, बिरुवा निकालिएको घटनालाई ग्रीन सिटी सामुदायिक सेवा केन्द्रका जयप्रकाश खेतानसँग जोडेर समेत प्रश्न उठाइएको छ। स्रोतका अनुसार महानगरबाट निकालिएका बिरुवा विभिन्न स्थानमा हुने वृक्षरोपण कार्यक्रममा प्रयोग गरिएको बताइएको छ। यद्यपि, यस विषयमा खेतानले आफू महानगरपालिकाको सरसफाइ तथा हरियाली कार्यक्रमको संयोजक रहेको र महानगरसँग पाँच वर्षसम्म काम गर्ने समझदारी भएको दाबी गरेका छन्।
खेतानले वीरगञ्जका विभिन्न स्थानमा आफ्नै पहल तथा खर्चमा सयौँ बिरुवा रोप्दै आएको दाबी गर्दै आफूले समाजसेवा गरिरहेको र त्यसबारे वीरगञ्जवासी जानकार रहेको प्रतिक्रिया दिएका छन्।
तर, महानगरपालिकाको नर्सरीबाट बिरुवा निकाल्ने विषयमा अनुमति, अभिलेख र जिम्मेवारी स्पष्ट नभएसम्म ‘समाजसेवा’को नाममा महानगरको सम्पत्ति प्रयोग गर्न मिल्ने हो कि होइन भन्ने प्रश्न उठेको छ।
अझ गम्भीर प्रश्न त के छ भने, महानगरको नर्सरीमा हुर्काइएका बिरुवा कहाँ, कसको निर्णयमा र कति संख्यामा लगिए भन्ने विवरण सार्वजनिक गरिएको छैन। महानगरपालिकाले वृक्षरोपणका नाममा वितरण तथा प्रयोग भएका बिरुवाको अभिलेख सार्वजनिक नगर्ने हो भने हरियाली अभियानको नाममा महानगरको स्रोतसाधन दुरुपयोग भएको आशंका बढ्ने देखिन्छ।
त्यसैगरी, ग्रीन सिटीको सहकार्यमा हुने कार्यक्रमहरूमा प्रहरी तथा प्रशासनका उच्च अधिकारीलाई सहभागी गराउने र सम्मान गर्ने गतिविधिलाई समेत केहीले ‘समाजसेवाभन्दा पहुँच विस्तारको माध्यम’का रूपमा प्रश्न उठाउँदै आएका छन्। यद्यपि, यस आरोपको स्वतन्त्र पुष्टि हुन बाँकी छ।
खेतानको मुख्य गतिविधि वृक्षरोपण र सरसफाइ अभियान हो वा प्रहरी प्रशासनसँग सम्बन्ध विस्तार गर्नु पनि त्यसको एउटा उद्देश्य हो भन्ने विषयमा समेत सार्वजनिक रूपमा प्रश्न उठ्न थालेको छ।
समाजसेवाको आवरणमा सार्वजनिक स्रोतसाधन प्रयोग भएको हो भने त्यसको जवाफदेहिता अनिवार्य हुन्छ। महानगरपालिकाले नर्सरीबाट निकालिएका १२० थान बिरुवाको अनुमति कसले दियो, कसको निर्देशनमा निकालियो, कहाँ लगियो र त्यसको अभिलेख कहाँ छ भन्ने विषय तत्काल सार्वजनिक गर्नुपर्ने देखिन्छ।
महानगरपालिकाको सम्पत्ति संरक्षण गर्नुपर्ने निकाय नै मौन बस्ने हो भने ‘हरियाली अभियान’का नाममा हुने गतिविधि पारदर्शी छन् कि छैनन् भन्ने प्रश्न अझ बलियो बन्नेछ।