धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पदबाट राजीनामा दिने घोषणा गरेका छन्। बिहीबार प्रदेशसभाको बैठकलाई सम्बोधन गर्दै शाहले प्रदेश प्रमुखसमक्ष राजीनामा बुझाउने घोषणा गरेका हुन्।
आर्थिक वर्ष २०८३/८४ को बजेटका विषयमा विवाद चर्किएपछि नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री शाह अल्पमतमा परेका थिए। एमालेले समर्थन फिर्ता लिएको ३०औँ दिनमा शाहले राजीनामा घोषणा गरेका हुन्।
प्रदेशसभामा सम्बोधन गर्दै शाहले बजेट निर्माणको विषयलाई लिएर आफूविरुद्ध राजनीतिक तथा व्यक्तिगत आरोप लगाइएको बताए। सरकारको साझेदारका रूपमा बजेट निर्माणका हरेक चरणमा सहभागी भएको एमालेले पछि आफ्नै सहभागितामा तयार भएको बजेटविरुद्ध खर्च कटौतीको प्रस्ताव ल्याएर प्रदेशमा अस्थिरता निम्त्याएको उनको आरोप थियो।
‘आफैंले ल्याएको बजेटमा संशोधन प्रस्ताव ल्याउनु भनेको सुदूरपश्चिमका भोका पेटहरूमाथिको प्रहार हो। यो प्रदेशलाई अस्थिरतातर्फ धकेल्ने खेल थियो,’ शाहले भने।
बजेटका विषयमा विवाद बढेपछि नयाँ आर्थिक वर्ष सुरु हुँदासमेत सुदूरपश्चिम प्रदेश बजेटविहीन अवस्थामा पुगेको थियो। प्रदेश सरकारले राजस्व सङ्कलन गर्न पाए पनि बजेट पारित नहुँदा खर्च गर्ने कानुनी आधार नहुँदा विकास निर्माणदेखि नियमित सरकारी कार्यक्रमसमेत प्रभावित भएका थिए।
मुख्यमन्त्री शाहको राजीनामासँगै सुदूरपश्चिममा नयाँ सरकार गठनको बाटो खुलेको छ। केन्द्रमा बनेको नयाँ राजनीतिक समीकरणअनुसार नेकपा र नेकपा एमालेबीच प्रदेश सरकार गठनका लागि सहकार्य भएको बताइएको छ। सुदूरपश्चिममा नेकपाले सरकारको नेतृत्व गर्ने सहमति भएको जनाइएको छ।
शाहको राजीनामासँगै लामो समयदेखि जारी राजनीतिक अन्योल अन्त्य हुने अपेक्षा गरिएको छ। तर नयाँ सरकारका सामु बजेट शून्यता अन्त्य गर्नु र प्रदेशसभाबाट नयाँ बजेट पारित गराउनु प्रमुख चुनौतीका रूपमा देखिएको छ।