जनकपुरधाम । मिटरब्याज तथा ठगीको आरोपमा पक्राउ परेका जनकपुरधाम उपमहानगरपालिका–१६ स्थित कपिलेश्वरका एकै परिवारका तीन जनालाई रिहाइ गर्न माग गर्दै आफन्त तथा समर्थकहरूले बिहीबार धनुषा जिल्ला अदालतअगाडि प्रदर्शन गरेका छन् ।
पूर्वएसएसपी गोविन्द साहले आफ्ना परिवारका सदस्यलाई नियोजित रूपमा मिटरब्याजको मुद्दामा फसाएको आरोप लगाउँदै प्रदर्शनकारीहरूले नाराबाजी गरेका हुन् । प्रदर्शनमा पक्राउ परेका गोपाल साह, उनकी श्रीमती रेखा साह र छोरा हरेराम साहका आफन्त तथा समर्थक सहभागी थिए । मिटरब्याज तथा ठगीको आरोपमा साउन २ गते पक्राउ परेका ५३ वर्षीय गोपाल साह, ४८ वर्षीया रेखा साह र ३२ वर्षीय हरेराम साहलाई प्रहरीले अनुसन्धानका लागि हिरासतमा राखेको छ ।
उनीहरूमाथि धनुषा जिल्ला अदालतमा करिब आठ जना पीडितले सामूहिक रूपमा मुद्दा दायर गरेका छन् । उक्त मुद्दा हाल अदालतमा बहस चलिरहेको छ । सो प्रदर्शनका क्रममा रेखा साहका छोरा जयराम साहले पूर्वएसएसपी गोविन्द साहले आफ्नो परिवारलाई फसाएको आरोप लगाए । उनले करिब पाँच वर्षअघि गोविन्द साहले आफैँ बिक्री गरिसकेको जग्गामाथि अहिले पुनः दाबी गर्दै आफ्नी आमा, बुवा र दाजुलाई मिटरब्याजको आरोपमा पक्राउ गराइएको छ ।
जयराम साहले पाँच वर्षअघि बिक्री गरिएको जग्गाको मूल्य अहिले करोडौँ रुपैयाँ पुगेपछि सोही सम्पत्ति फिर्ता लिन खोजिएको दाबी गरे । उनले जग्गा कारोबारका क्रममा सम्बन्धित कागजातमा हस्ताक्षर तथा औँठा छापसमेत गरिएको थियो । त्यसैले अहिले आएर सोही जग्गालाई ऋण कारोबारसँग जोडेर आफ्नो परिवारलाई फसाउनु गलत भएको उनको जिकिर छ । जयराम साहले भने, ‘पूर्वएसएसपीजस्तो व्यक्तिले कागजातमा सही गर्ने बेलामा पढेकै होला। सोहीअनुसार कागजातमा औँठाछापसमेत गरिएको छ ।’ उनले पक्राउ परेको २५ दिन बितिसक्दा पनि आफ्ना आमा–बुवालाई प्रहरीले रिहा नगरेको तथा थप म्याद लिएर हिरासतमा राखिएको भन्दै आपत्ति जनाए ।
अदालतमा मुद्दा विचाराधीन रहेकाले थुनामा नराखी बाहिरै बसेर कानुनी प्रक्रिया पूरा गर्ने वातावरण बनाउनुपर्ने उनको माग छ । जयराम साहले जनाए अनुसार प्रदर्शन अदालतको कामकारबाही प्रभावित पार्न नभइ आफ्ना परिवारका सदस्यलाई कानुनी प्रक्रियाअनुसार बाहिर बसेर मुद्दा लड्न पाउने वातावरण निर्माणका लागि गरिएको छ । “जग्गा धितो राखेर एक करोड ऋण लिएको हु“ यता पूर्वएसएसपी गोविन्द साहले भने आफूले जग्गा बिक्री गरेको नभइ चुनाव लड्ने प्रयोजनका लागि आर्थिक आवश्यकता परेपछि जग्गा राखेर एक करोड रुपैयाँ ऋण लिएको बताउँदै आएका छन् ।
उनले २०७९ सालको वैशाखमा चुनाव लड्ने तयारीका क्रममा आफ्नो जग्गा गोपाल साह भने अनुसार रेखा साहसमक्ष राखेर आवश्यक कागजात तयार गरी एक करोड रुपैयाँ ऋण लिएका थिए । जसमध्ये ९९ लाख रुपैयाँ मात्रै प्राप्त भएको समेत उनले दाबी गरे । ऋणको धरौटीस्वरूप तत्काल आफ्नो नाममा रहेको जग्गा मालपोत कार्यालयबाट पास गरिएको उनको दाबी छ । तर ऋण चुक्ता गर्ने क्रममा आफ्नो जग्गाजमिन खोजतलास गर्दा उक्त सम्पत्ति विभिन्न बैंकमा समेत धितो राखेर ऋण निकालिएको र करोडौँ मूल्यको सम्पत्ति हत्याउने प्रयास भएको साहको आरोप छ ।
आफ्नो सम्पत्ति जोगाउन बाध्य भएर अदालतको शरणमा पुगेको उनले बताउँदै आएका छन् । साहले आफूलाई नै मिटरब्याज पीडितका रूपमा प्रस्तुत गर्दै गोपाल साह, रेखा साहलगायतविरुद्ध कानुनी उपचार खोजेको बताएका छन् । यसले घटनालाई दुई पक्षबीचको ऋण, जग्गा कारोबार र स्वामित्वसम्बन्धी विवादका रूपमा समेत जटिल बनाएको छ। एक पक्षले जग्गा बिक्री भइसकेको दाबी गरिरहेको छ भने अर्को पक्षले जग्गा ऋणको धरौटीस्वरूप पास गरिएको दाबी गर्दै आएको छ । धनुषा जिल्ला अदालतमा गोपाल साह, रेखा साह र हरेराम साहविरुद्ध मिटरब्याजको आरोपमा आठ जना पीडितले सामूहिक रूपमा मुद्दा दायर गरेका छन् ।
उक्त मुद्दा हाल अदालतमा विचाराधीन छ । मिटरब्याजसम्बन्धी विवादमा दुवै पक्षबाट गम्भीर आरोप– प्रत्यारोप भइरहेका छन् । पीडित पक्षले आफूहरूमाथि अन्याय भएको दाबी गर्दै न्यायको माग गरिरहेको छ भने पक्राउ परेकाहरुको आफन्तले आफ्ना परिवारका सदस्यलाई झुटा आरोपमा फसाइएको दाबी गर्दै आएका छन् । यसैबीच यही विवादसंग जोडिएको अर्को गम्भीर घटना बुधबार धनुषा जिल्ला अदालतअगाडि भएको थियो । एक मिटरब्याज पीडित महिला फुलकुमारी रजकले आफूलाई गोपाल साह, रेखालगायतबाट अन्याय भएको भन्दै न्यायको माग गर्दै आत्महत्याको प्रयास गरेकी थिइन् ।
अदालत परिसर अगाडि नै आत्महत्याको प्रयास भएपछि घटनाले थप गम्भीर रूप लिएको थियो । ती महिलाले आफूले भोगेको अन्यायबारे सम्बन्धित निकायले सुनुवाइ गर्नुपर्ने र दोषीमाथि कानुनी कारबाही हुनुपर्ने माग गर्दै आएकी थिइन् । लगातार दुई दिन अदालत परिसरअगाडि भएका यी घटनाले धनुषामा मिटरब्याजसम्बन्धी विवाद कति संवेदनशील बन्दै गएको छ भन्ने देखिन्छ । एकातर्फ मिटरब्याज पीडितहरूले आफूहरूलाई न्याय दिनुपर्ने माग गरिरहेका छन् भने अर्कोतर्फ आरोपीका आफन्तहरूले पक्राउ परेकाहरूलाई नियोजित रूपमा फसाइएको दाबी गर्दै रिहाइको माग गरेका छन् ।
उक्त घटनामा संलग्न दुवै पक्षले आ–आफ्ना दाबी र प्रमाण प्रस्तुत गरिरहेका छन् ।