सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्रदेशसभा संसदीय दलका नेता खगराज भट्ट नियुक्त हुनुभएको छ ।
नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश प्रमुख नजीर मियाँले उहाँलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो । उहाँ सुदूरपश्चिम प्रदेशको पाँचौँ मुख्यमन्त्री हुुनुभएको छ ।
सत्ता समीकरणमा आएको परिवर्तनसँगै मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा दिएपछि नेपाली कम्युनिष्ट पार्टी प्रदेशसभा संसदीय दलका नेता भट्ट पाँचौँ मुख्यमन्त्री बन्नुभएको हो ।
चार वर्षमा चार मुख्यमन्त्री
प्रदेश स्थापनापछि यहाँ पहिलो कार्यकालमा पाँचै वर्ष तत्कालीन नेकपा (माओवादी केन्द्र) का नेता त्रिलोचन भट्ट मुख्यमन्त्री हुनुभएको थियो । प्रदेशसभाको दोस्रो कार्यकालमा भने हालसम्म चार जना मुख्यमन्त्री बन्नुभएको छ ।
यहाँ दोस्रो कार्यकालको पहिलो मुख्यमन्त्रीमा राजेन्द्रसिंह रावल रहनुभएको थियो । उहाँले विसं २०७९ पुष २८ देखि सोही वर्षको माघ २६ गतेसम्म जिम्मेवारी सम्हाल्नुभएको थियो।
त्यसपछि नेपाली कांग्रेस प्रदेशसभा संसदीय दलका नेता कमलबहादुर शाहले माघ २७ देखि २०८१ वैशाख ५, दीर्घबहादुर सोडारीले वैशाख ६ देखि सोही वर्ष साउन २० गतेसम्म मुख्यमन्त्रीको जिम्मेवारी सम्हाल्नुभएको थियो । त्यसपछि फेरि कांग्रेसका कमलबहादुर शाह दोस्रोपटक मुख्यमन्त्री बन्नुभएको हो ।
उहाँ पहिलोपटक एक वर्ष चार महिना आठ दिन र दोस्रोपटक दुई वर्ष आठ दिन मुख्यमन्त्री बन्नुभयो । शाहले सत्ता समीकरण बदलिएपछि बिहीबार पदबाट राजीनामा दिनुभएको हो ।
यसरी दोस्रो प्रदेशसभा कार्यकालको सुरुआतदेखि नै सुदूरपश्चिममा सरकार गठन र विघटनको क्रम चलिरहेको छ । यहाँ कुनै पनि दलको एकल बहुमत नभएकाले केन्द्रमा बन्ने राजनीतिक समीकरणको प्रत्यक्ष प्रभाव पर्दै आएको छ ।
हाल ५३ सदस्यीय प्रदेशसभामा नेकपाका २२ र एमालेका ११ सदस्य रहेकाले नयाँ सरकार गठनका लागि आवश्यक बहुमत जुटाउन सहज छ । यहाँ नेपाली कांग्रेसबाट १८ र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट एक जना प्रदेशसभा सदस्य रहेका छन् । एक जना प्रदेशसभा सदस्यले राजीनामा दिएपछि हाल ५२ जना रहेका छन् ।