वीरगन्ज । जिल्ला प्रहरी कार्यालय पर्सामा हालै सरुवा भई आएका प्रहरी उपरीक्षक (एसपी) पवन भट्टराईले जनतालाई सहज र प्रभावकारी सेवा प्रदान गर्नु तथा सीमा वारपार हुने तस्करी लगायतका आपराधिक गतिविधि नियन्त्रण गर्नु आफ्नो पहिलो प्राथमिकता रहेको बताएका छन्।
शुक्रबार पर्साका सञ्चारकर्मीहरूसँग आयोजित परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रहरी उपरीक्षक भट्टराईले प्रहरी सेवालाई सहज, विश्वसनीय र जनमैत्री बनाउने दिशामा आफू केन्द्रित हुने बताए। उनले अपराधरहित समाज निर्माणका लागि प्रहरी प्रशासन एक्लैले मात्र सफल हुन नसक्ने भन्दै सञ्चारकर्मी, स्थानीयवासी र समाजका सबै पक्षको सहकार्य आवश्यक रहेको उल्लेख गरे।
उनले प्रहरी प्रशासनले शान्ति सुरक्षा कायम राख्न निरन्तर काम गरिरहेको बताउँदै सामाजिक सद्भाव, अमनचयन र कानुनी शासन सुदृढ बनाउन सबैको हातेमालो अपरिहार्य रहेको धारणा व्यक्त गरे।
अन्तरक्रियाका क्रममा सञ्चारकर्मीहरूले प्रहरी प्रशासनले अझ प्रभावकारी, पारदर्शी र जनउत्तरदायी ढंगले काम गर्नुपर्नेमा जोड दिएका थिए। उनीहरूले हिंसामा परेका तथा पीडित व्यक्तिहरूलाई थप पीडा दिने होइन, मल्हम लगाउने शैलीमा व्यवहार गर्न प्रहरी प्रशासनलाई आग्रह गरेका थिए।
पत्रकारहरूले समय–समयमा प्रहरी प्रशासनबाट सञ्चारकर्मीहरूलाई अनावश्यक दुःख दिने घटनाहरू हुने गरेको गुनासो गर्दै त्यस्ता गतिविधि दोहोरिन नदिन पनि आग्रह गरेका थिए। कार्यक्रममा पत्रकार र प्रहरीबीच समन्वय, सूचना आदानप्रदान र आपसी विश्वास अभिवृद्धि गर्ने विषयमा समेत छलफल भएको थियो।