रौतहट । रौतहटको गुजरा नगरपालिका–७ मा सर्पले टोकेका सात वर्षीय बालकको झारफुक गराउने क्रममा मृत्यु भएको छ।
स्थानीय लालबाबु रामका छोरा छोटेलाल रामलाई शुक्रबार बिहान करिब ३ बजे विषालु सर्पले टोकेको थियो। सर्पदंशपछि परिवारले तत्काल अस्पताल लैजानुको सट्टा गाउँकै झाँक्रीकहाँ लगेर झारफुक गराएका थिए।
झारफुककै क्रममा बालकको अवस्था गम्भीर बन्दै गएपछि परिवारले उनलाई चन्द्रपुरस्थित सरकारी अस्पताल पुर्याएका थिए। अस्पताल पुर्याउँदा चिकित्सकले बालकलाई मृत घोषणा गरेका हुन्।
सर्पदंशजस्तो संवेदनशील अवस्थामा समयमै उपचार नपाउँदा बालकको ज्यान गएको घटनाले ग्रामीण क्षेत्रमा अझै पनि सर्पदंशको उपचारभन्दा झारफुकमा निर्भर हुने प्रवृत्ति कति जोखिमपूर्ण छ भन्ने देखाएको छ। विषालु सर्पले टोकेपछि केही मिनेटदेखि घण्टाभित्रै विषको असर फैलिन सक्ने भएकाले झारफुकमा समय बिताउनुको सट्टा तत्काल स्वास्थ्य संस्थामा पुर्याउनु आवश्यक हुन्छ।
वर्षायाममा सर्पदंशका घटना बढ्ने भएकाले स्थानीय तह र स्वास्थ्य संस्थाले ग्रामीण क्षेत्रमा जनचेतनामूलक अभियान सञ्चालन गर्दै सर्पदंशको प्राथमिक उपचार तथा तत्काल अस्पताल पुर्याउनुपर्ने विषयमा सचेत गराउन आवश्यक देखिन्छ।