पर्सा । पर्साको पकहामैनपुर गाउँपालिकामा सुशासन र प्रशासनिक निष्पक्षताको धज्जी उडाउँदै प्रमुख प्रशासकीय अधिकृत, उनका आफन्त र निकट कर्मचारीको मिलोमतोमा अनियमितता भइरहेको गम्भीर खुलासा भएको छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवनाथ साहले आफ्नो पदीय अधिकारको दुरुपयोग गरी भिनाजु मनीलाल साह तेलीलाई नियमविपरीत नियुक्ति दिने र प्रशासनिक पहुँचका आधारमा महत्वपूर्ण शाखाहरूको जिम्मेवारी सुम्पिने गरेको पाइएको छ।
गाउँपालिकाको आधिकारिक अभिलेखअनुसार फिल्ड सहायकका रूपमा कार्यरत मनीलाल साह तेलीलाई प्रमुख प्रशासकीय अधिकृत साहले एकाएक नापतौल शाखा, सहायक जिन्सी, सामाजिक सुरक्षा तथा पञ्जीकरण जस्ता संवेदनशील र महत्वपूर्ण शाखाहरूको अतिरिक्त जिम्मेवारी दिएका छन्।
साह गाउँपालिकामा आएलगत्तै आफ्नै भिनाजु मनीलाललाई करारमा भर्ना गराई राज्यको साधन-स्रोतमाथि कब्जा जमाउने मनसायले विभिन्न शाखाको चाबी सुम्पिएको भन्दै स्थानीयवासी र सेवाग्राही आक्रोशित बनेका छन्।
त्यसैगरी, प्रमुख प्रशासकीय अधिकृत देवनाथ साहको ओत पाएर गाउँपालिकामा अर्का विवादित कर्मचारी सुधांशु शेखर प्रसादले मनपरी चलाइरहेको आरोप लागेको छ। पहिले वडा नम्बर १ को सचिव रहेका प्रसादलाई देवनाथ साहले आफ्नो विश्वासपात्रका रूपमा योजना शाखा, मेडपा तथा सामाजिक विकास शाखा जस्ता बजेट र विकास निर्माणसँग जोडिएका शाखाहरूको जिम्मेवारी सुम्पिएका छन्।
योजना शाखामा हालीमुहाली गर्दै आएका सुधांशु शेखर प्रसादमाथि विकास निर्माणका फाइल अघि बढाउन र भुक्तानी प्रक्रिया सहज बनाउन मोटो रकम (कमिसन) माग्ने गरेको गम्भीर आरोप लागेको छ।
'कुरा मिलेका' र आर्थिक लेनदेन भएका फाइल मात्र सहज रूपमा अघि बढाउने र अन्य फाइलहरू रोकेर सास्ती दिने काममा प्रसाद सक्रिय रहेको स्थानीयको आरोप छ।
सुशासन र पारदर्शिता कायम हुनुपर्ने सार्वजनिक संस्थामा आफ्ना भिनाजु मनीलाल साह तेलीलाई नियमविपरीत विभिन्न शाखा सुम्पिनु र योजना शाखामा सुधांशु शेखर प्रसादलाई राखेर कमिसनको खेल चलाउनुले पकहामैनपुर गाउँपालिकाको प्रशासनिक संरचना नै धराशयी बनेको छ।
योग्यता, क्षमता र कानुनी प्रक्रियालाई लत्याउँदै नातावाद र कृपावादमा लिप्त अधिकृत देवनाथ साह र उनी निकटका कर्मचारीहरूको यस्तो रवैयाबारे सम्बन्धित निकायले तत्काल छानबिन गरी कडा कारबाही गर्नुपर्ने माग स्थानीय तहमा चर्किएको छ।
यो विषयमा प्रमुख प्रशासकीय अधिकृत साहले सामाजिक विकास शाखा र योजना शाखा एउटै किसिमको भएकोले उनलाई दिएको बताए साथै आफ्नै भिनाजुको बारेमा उनले केही बोल्न चाहेनन् ।