पर्सा । पकहामैनपुर गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत देवेनाथ साहले प्रकाशित गरेको प्रधानाध्यापक पदपूर्तिसम्बन्धी सूचना गाउँपालिका अध्यक्ष सुरेशप्रसाद मेहताले तत्काल स्थगन गरी पुनरावलोकन गर्न निर्देशन दिएका छन्।
प्रमुख प्रशासकीय अधिकृत साहको हस्ताक्षरमा गाउँपालिकाले विभिन्न सामुदायिक विद्यालयमा प्रधानाध्यापक पदपूर्तिका लागि सूचना प्रकाशित गरेको थियो। सूचनामा माध्यमिक तथा आधारभूत तहका विभिन्न विद्यालयमा प्रधानाध्यापक पदपूर्तिका लागि दरखास्त आह्वान गरिएको थियो।
तर, गाउँपालिका अध्यक्ष मेहताले प्रमुख प्रशासकीय अधिकृतलाई पत्र पठाउँदै उक्त सूचना तत्काल स्थगन गरी पुनरावलोकन गर्न निर्देशन दिएका हुन्।
अध्यक्षले पठाएको पत्रमा प्रधानाध्यापक पदपूर्तिका लागि सूचना प्रकाशन गर्नुअघि त्यसको कानुनी आधार, गाउँ कार्यपालिकाको निर्णय तथा अधिकार प्रत्यायोजनसम्बन्धी व्यवस्था स्पष्ट हुनुपर्ने उल्लेख गरेका छन्। तर, कुन कानुनी व्यवस्था, कुन निर्णय र कुन अधिकार प्रयोग गरी सूचना प्रकाशन गरिएको हो भन्ने विषय स्पष्ट नभएको भन्दै अध्यक्षले पुनरावलोकन आवश्यक रहेको बताएका छन्।