पर्सा । जिल्ला प्रहरी कार्यालय पर्साको नेतृत्व सम्हालेपछि प्रहरी उपरीक्षक (एसपी) पवन भट्टराईले आफूसँगै ल्याएका केही प्रहरी कर्मचारीलाई सादा पोशाकमा परिचालन गर्ने तयारी गरेपछि प्रहरीभित्रै प्रश्न उठ्न थालेको छ।
प्रहरी संगठनमा नेतृत्व परिवर्तनसँगै अनुभवी तथा विश्वासिला जनशक्तिलाई जिम्मेवारी दिनु अस्वाभाविक होइन। तर सीमावर्ती तथा संवेदनशील जिल्लामा पर्याप्त जनशक्ति हुँदाहुँदै बाहिर कार्यरत कर्मचारीलाई ल्याएर सिभिल टोलीमा परिचालन गर्ने अभ्यासले संस्थागत कमाण्ड, जिम्मेवारी र जवाफदेहितामाथि प्रश्न उठाएको हो।
एसपी भट्टराईले काठमाडौंस्थित नगर प्रहरीमा कार्यरत प्रहरी निरीक्षक आशुतोषबहादुर शाहीलाई समेत पर्सा ल्याएको बताइएको छ। शाही यसअघि वडा प्रहरी कार्यालय श्रीपुरको इन्चार्जका रूपमा पर्सामा काम गरिसकेका प्रहरी अधिकृत हुन्। उनलाई अहिले सादा पोशाकमा सूचना संकलन तथा निगरानीसम्बन्धी जिम्मेवारी दिने तयारी भएको बताइएको छ।
त्यसैगरी वडा प्रहरी कार्यालय श्रीपुरमा लेखापालका रूपमा कार्यरत प्रहरी नायव निरीक्षक (सई) राजनबहादुर खड्कालाई पनि सिभिल टोलीमा खटाइएको चर्चा छ। नियमित जिम्मेवारीभन्दा फरक भूमिकामा उनलाई परिचालन गरिएको हो भने त्यसको आधार, उद्देश्य र कार्यक्षेत्र स्पष्ट हुनुपर्ने प्रहरीभित्रै आवाज उठेको छ।
प्रहरी अधिकृतले आफूले विश्वास गरेका कर्मचारीसँग काम गर्न चाहनु सामान्य प्रशासनिक अभ्यास हुन सक्छ। तर प्रहरी संगठनमा व्यक्तिगत विश्वासभन्दा संस्थागत आवश्यकता, दक्षता, कार्यक्षमता र स्पष्ट जवाफदेहिता महत्वपूर्ण मानिन्छ।
विशेषगरी सादा पोशाकमा खटिने प्रहरी कर्मचारीलाई सूचना संकलन, निगरानी तथा अपराध नियन्त्रणका नाममा परिचालन गर्दा उनीहरूको कामको सीमा स्पष्ट हुन आवश्यक हुन्छ। कसले निर्देशन दिने, कसलाई रिपोर्ट गर्ने, प्राप्त सूचना कसरी अभिलेख राख्ने र त्यसका आधारमा कारबाही कसरी अघि बढाउने भन्ने विषयमा स्पष्ट प्रणाली नभए सिभिल टोली विवादको केन्द्र बन्न सक्छ।
पर्साजस्तो भारतसँग जोडिएको प्रमुख व्यापारिक नाका रहेको जिल्लामा सिभिल प्रहरीको भूमिका महत्वपूर्ण छ। तस्करी, भन्सार छली, लागुऔषध तथा सीमापार अपराध नियन्त्रणका लागि सूचना संयन्त्र प्रभावकारी हुनु आवश्यक छ। तर सूचना संयन्त्रको नाममा प्रहरी कर्मचारीको परिचालन पारदर्शी र संस्थागत हुनुपर्ने सुरक्षा विज्ञहरूको जोड रहँदै आएको छ।
प्रहरी निरीक्षक शाहीको विगतको कार्यसम्पादनलाई लिएर विभिन्न समयमा विवाद सार्वजनिक भएको उल्लेख गरिएको छ। त्यस्तै, सई खड्काको कार्यसम्पादनसँग जोडिएका विगतका गुनासासमेत प्रहरी वृत्तमा चर्चामा आएको बताइन्छ।
यद्यपि, विगतमा उठेका आरोप वा विवादकै आधारमा कुनै प्रहरी कर्मचारीलाई दोषी ठहर गर्न मिल्दैन। सम्बन्धित कर्मचारीको पछिल्लो कार्यसम्पादन, जिम्मेवारी निर्वाह र प्रमाणका आधारमा मात्र मूल्याङ्कन गरिनुपर्छ।
तर विगतमा विवादमा आएका कर्मचारीलाई सीमावर्ती जिल्लाको संवेदनशील सादा पोशाकको जिम्मेवारी दिइएको हो भने त्यसको औचित्य र छनोटको आधार नेतृत्वले स्पष्ट पार्नुपर्ने अवस्था भने देखिएको छ।
यस विषयमा एसपी पवन भट्टराईले प्रहरी संगठनमा काज तथा सरुवा नियमित प्रक्रिया भएको बताएका छन्। तोकिएको जिम्मेवारी सबैले पूरा गर्नुपर्ने र राम्रो काम गर्नेलाई पुरस्कार तथा गलत काम गर्नेलाई कारबाही गरिने उनको भनाइ छ।
उनले प्रहरी कर्मचारीको काम–कारबाहीबारे बाहिरबाट गरिने अनुमानभन्दा संगठनभित्रको वास्तविक कार्यसम्पादन महत्वपूर्ण हुने धारणा व्यक्त गरेका छन्।