पर्सा । पर्सामा लामो समयदेखि तोकिएको मापदण्डविपरीत दर्जनौँ एम्बुलेन्स सञ्चालनमा रहेको पाइएको छ। जिल्लामा वर्षौँ पुराना तथा जीर्ण एम्बुलेन्ससमेत आवश्यक मापदण्ड पूरा नगरी सञ्चालन भइरहेको पाइएको हो।
भारतीय नम्बर प्लेटका एम्बुलेन्ससमेत मापदण्डविपरीत सञ्चालनमा रहेको भन्दै जिल्लाका एम्बुलेन्स चालकहरूले गुनासो गरेका छन्। वीरगन्जस्थित गुप्ता मेडिकल हलबाट लामो समयदेखि भारतीय नम्बर प्लेटको डीएल ०१ ए ३२९४ नम्बरको एम्बुलेन्स सञ्चालनमा रहेको बताइएको छ।
पर्सामा मापदण्ड नपुगेका ३० भन्दा बढी एम्बुलेन्स जोखिम मोलेर सञ्चालनमा रहेको एम्बुलेन्स चालकहरूले बताएका छन्। तोकिएको मापदण्ड पूरा गरेका एम्बुलेन्स मात्र सञ्चालन गर्नुपर्ने भए पनि सम्बन्धित निकायले अहिलेसम्म प्रभावकारी रूपमा कडाइ गर्न सकेको छैन।
सरकारले जारी गरेको एम्बुलेन्स सञ्चालन निर्देशिकाअनुसार ‘क’ र ‘ख’ वर्गका एम्बुलेन्स मात्र सञ्चालन गर्न सकिने व्यवस्था छ। तर जिल्लामा अधिकांश एम्बुलेन्स उक्त मापदण्ड पूरा नगरी सञ्चालनमा रहेको बताइएको छ।
पर्सा जिल्लामा सरकारी निकायबाहेक सञ्चालनमा रहेका एम्बुलेन्सको यकिन तथ्यांकसमेत नभएको स्वास्थ्य कार्यालय पर्साले जनाएको छ। नेपाल सरकारले पाँच वर्षअघि एम्बुलेन्स सञ्चालन निर्देशिका, २०७८ जारी गरेको थियो।
स्वास्थ्य कार्यालय पर्साका एक अधिकृतका अनुसार उक्त निर्देशिकाले ‘ग’ वर्गका एम्बुलेन्सलाई न्यूनतम ‘ख’ वर्गमा स्तरोन्नति गर्नुपर्ने व्यवस्था गरेको छ। ‘ग’ वर्गका एम्बुलेन्सलाई सुधार गर्न नसके एम्बुलेन्सका रूपमा सञ्चालन गर्न नपाउने प्रावधानसमेत निर्देशिकामा राखिएको छ। सरकारले हालै एम्बुलेन्स सञ्चालन निर्देशिका, २०८२ समेत जारी गरिसकेको छ।
निर्देशिका जारी भएको पाँच वर्ष बितिसक्दा पनि दुईवटा एम्बुलेन्सबाहेक अन्यको स्तरोन्नति हुन नसकेको वीरगन्ज एम्बुलेन्स चालक संघ पर्साले जनाएको छ।
संघका अनुसार ‘क’ वा ‘ख’ वर्गको एम्बुलेन्स मात्र सञ्चालन गर्न पाउने कानुनी व्यवस्था छ। तर वीरगन्ज एम्बुलेन्स चालक संघ पर्सामा अहिले २२ वटा एम्बुलेन्स दर्ता भएर सञ्चालनमा रहेका छन्।
संघका अध्यक्ष नौसाद अन्सारीले संघले सञ्चालन गर्दै आएका एम्बुलेन्ससमेत अहिलेसम्म पूर्ण रूपमा मापदण्डअनुसार नरहेको स्वीकार गरे। उनका अनुसार एम्बुलेन्सलाई मापदण्डअनुसार सुधार गर्ने काम भइरहेको छ।
संयुक्त एम्बुलेन्स चालक संघ ट्रेड युनियन नेपालका अध्यक्ष जर्नादन गिरीले एम्बुलेन्सको मापदण्ड कार्यान्वयनमा कडाइ गर्न खोजिए पनि अझै पूर्ण रूपमा पालना हुन नसकेको बताए। उनका अनुसार उक्त संघमा पालिका तथा अन्य जिल्लाका गरी करिब ५० वटा एम्बुलेन्स आबद्ध छन्। अब मापदण्ड कार्यान्वयनमा कडाइ गर्ने तयारी भइरहेको उनले बताए।
मापदण्डअनुसार एम्बुलेन्स सञ्चालन गर्न पटक–पटक समय दिइए पनि बेवास्ता भएको भन्दै चालक तथा सञ्चालकलाई बोलाएर अन्तिम चेतावनी दिने तयारी भइरहेको जिल्ला प्रशासन कार्यालय पर्साका एक अधिकृतले बताए।
उनका अनुसार प्रमुख जिल्ला अधिकारी अध्यक्ष तथा स्वास्थ्य कार्यालय सदस्य–सचिव रहेको एम्बुलेन्स मापदण्ड अनुगमन समिति गठन गरिएको छ। समितिले बैठक बसेर एम्बुलेन्स सञ्चालकलाई मापदण्ड पालना गर्न जानकारी गराइसकेको छ।
‘ख’ वर्गको एम्बुलेन्स बन्नका लागि निर्देशिकाको अनुसूची–१४ अनुसार प्राविधिकले एम्बुलेन्सको अवस्था अनुगमन गरेको प्रतिवेदनसमेत पेस गर्नुपर्ने व्यवस्था छ। त्यस्तै, अघिल्लो वर्षको लेखापरीक्षण प्रतिवेदन, जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिको सिफारिस, सम्बन्धित अस्पताल वा स्वास्थ्य संस्थाको निर्णय तथा अस्पतालसँग भएको सम्झौता आवश्यक पर्ने व्यवस्था छ।
स्वास्थ्य कार्यालय पर्साका प्रमुख निलारम्भ अधिकारीका अनुसार अबदेखि सञ्चालनमा आउने एम्बुलेन्सले राष्ट्रिय प्रदूषण मापदण्ड अनिवार्य रूपमा पूरा गर्नुपर्नेछ। उनका अनुसार जिल्लाका १४ वटै पालिकाभित्र सञ्चालनमा रहेका एम्बुलेन्सको मात्र तथ्यांक स्वास्थ्य कार्यालयसँग उपलब्ध छ।
मापदण्ड पूरा गरेका एम्बुलेन्समा एम्बुलेन्सको पहिचान खुल्ने आवाज वा साइरन, रातो रङको लामो संकेत बत्ती तथा फोर ह्विल ड्राइभको व्यवस्था हुनुपर्नेछ। त्यस्तै, एक हजार सीसीभन्दा बढी क्षमताको इन्जिन, चालकको सिटपछाडि अन्य सिट नरहेको, जीपीएस जडान गरिएको र नवीकरणको स्टिकर टाँसिएको हुनुपर्ने व्यवस्था छ।