बर्दिया । आदीवासी जनजाती तथा स्थानिय समुदायमा समर्पित अनुदान संयन्त्र (डिजीएम) नेपालको सहयोग र श्रृजनशिल दलित उद्यमशिलता समुहसंगको सहकार्यमा राष्ट्रिय दलित नेटवर्क नेपालद्धारा बर्दिया जिल्लाको बाँसगढी नगरपालिका वडा नंं.८ जुरैना टोलमा सञ्चालन गरिएको बाँस उद्यमशिलता विकास कार्यक्रमको सुभारम्भ तथा अभिमुखिकरण कार्यक्रम सहित बृक्षारोपण कार्य सम्पन्न भएको छ । यस कार्यक्रमले स्थानीय दलित समुदाय, महिलाहरु त्था अन्य सिमान्तकृत समुदायको आर्थिक सशक्तीकरण, सीप विकास र उद्यमशीलता प्रवद्र्धनमा सकारात्मक योगदान पु¥याउने अपेक्षा गरिएको छ ।
कार्यक्रमको उदघाटन गर्दै प्रमुख अतिथी एवं राष्ट्रिय दलित नेटवर्क नेपालका महासचिव पार्वती आग्रीले दलित समुदायको सामाजिक तथा आर्थिक रूपान्तरणका लागि बाँसमा आधारित उद्यमशीलताको सम्भावना महत्वपूर्ण रहेको बताउनुभयो । साथै उहाँले कार्यक्रमको मुख्य उद्देश्य दलित समुदायको बाँसमा आधारित उद्यम विकास मार्फत हरित सीप, उत्पादन, उद्यमशीलता, रोजगारी तथा दिगो आयआर्जनका अवसरहरू प्रवद्र्धन गर्नु रहेको बताउनु भयो । महासचिव आग्रीले बाँस खेती, प्रशोधन तथा बाँसजन्य सामग्री उत्पादनलाई स्थानीय महिला तथा दलित समुदायको आयआर्जन र जीविकोपार्जनको दिगो माध्यमका रूपमा विकास गर्न सकिने कुरामा जोड दिनुभयो ।
राष्ट्रिय दलित नेटवर्क नेपालका सल्लाहकार नन्द विश्वकर्माले कार्यक्रम अन्तर्गत सञ्चालन गरिने प्राविधिक मार्गदर्शन, सीप विकास तथा क्षमता अभिवृद्धिका गतिविधिबारे जानकारी गराउनु भयो । साथै उहाँले परियोजना अन्तर्गत स्थानीय कृषक तथा सहभागीहरूलाई आधुनिक बाँस खेती प्रविधि, बाँसको प्रशोधन, उत्पादन विविधीकरण, उद्यम व्यवस्थापन तथा बजार व्यवस्थापन सम्बन्धी तालिम प्रदान गरिने कुरामा जोड दिनुभयो ।
कार्यक्रम श्रृजनशिल दलित उद्यमशिलता समूहका अध्यक्ष प्रेमबहादुर सुनारको अध्यक्षतामा सम्पन्न भएको थियो । कोषाध्यक्ष लिला विकले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रममा कुलबहादुर विश्वकर्माले कार्यक्रम सञ्चालन गर्नु भएको थियो । राष्ट्रिय दलित नेटवर्क नेपालका कार्यकारी निर्देशक हुकुमबहादुर सार्कीले परियोजनाको उद्देश्य, अपेक्षित उपलब्धि तथा कार्यान्वयन प्रक्रियाबारे विस्तृत जानकारी प्रस्तुत गर्नुभयो । कार्यक्रममा सहभागीहरुले स्थानीय स्रोत, सीप र सम्भावनामा आधारित उद्यम विकासको अवसर प्रदान गरेकोमा आयोजक तथा सहयोगी संस्थाप्रति आभार व्यक्त गर्दै कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सक्रिय सहभागिता जनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।