जनकपुरधाम । गुठी संस्थानको निर्णय अनुसार जनकपुरधामस्थित अतिक्रमित जग्गा खाली गराउने कार्य आजदेखि सुरू भएको छ ।
पहिलो चरणमा साातवटा पोखरीको डिल खाली गराइनेछ । पेठिया बजार नजिक गिरनारी कुट्टीस्थित गोरधाई पोखरीको डिलबाट अतिक्रमित जग्गा अभियान सुरू गरिएको छ ।
निकै कडा सुरक्षाकाबीच डोजरले घरहरू भत्काएर अतिक्रमित जग्गा खाली गराइँदैछ । केही व्यक्तिले अवरोध श्रृजना गर्न खोजे पनि प्रहरीले तिनीहरूलाई नियन्त्रणमा लिई हटाएको थियो ।
घटनास्थलमा अत्यधिक संख्यामा संख्यामा नेपाल प्रहरी तथा सशस्त्र प्रहरी परिचालन गरिएको छ । साउन १ गते अतिक्रमित जग्गा खाली गर्न सूचना जारी भएको थियो ।
भदौ ५ जनकपुर नगर क्षेत्रमा माइकिङ गरेर जग्गा खाली गर्न सूचना दिइएको थियो ।
गुठीको जग्गा संरक्षण र व्यवस्थापनका लागि गठित ‘उच्चस्तरीय कार्यदलको प्रतिवेदन–२०६२ कार्यान्वयन समिति’ का सदस्य सचिव जनक पोखरेलका अनुसार पहिलो चरणमा अतिक्रमित ७ वटा पोखरीको अतिक्रमित डिल खाली गराइनेछ । पहिलो चरणमा गोरधोई पोखरी, मुरली सर, रत्नसागर पोखरी, विषहारा पोखरी, दिर्घिका सर, अरगजा पोखरीको अतिक्रमित डिल खाली गराइने उनले बताए ।
समितिले छनोट गरेका ४९ वटा अतिक्रमित पोखरीमध्ये ३० वटाको नाप जाँच भइसकेको छ । विस्तारै क्रमागत रूपमा सबै पोखरीको डिल खाली गराइनेछ ।