बारा । जितपुर सिमरा उपमहानगरपालिका–१ दसधुरेकी तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा प्रहरीले दुई जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाइरहेको अवस्थामा घटनाबारे थप गम्भीर विवरणहरू सार्वजनिक भएका छन्।
ज्योति दैनिकको खोजका क्रममा प्राप्त प्रारम्भिक सूचनाअनुसार बालिकालाई चकलेटको प्रलोभन देखाएर सुनसान घरतर्फ लगिएको र त्यहाँ यौन हिंसा गरी हत्या गरिएको दाबी गरिएको छ। घटनामा पक्राउ परेका १६ वर्षीय किशोरले बालिकालाई चकलेट देखाएर घरतर्फ लगेको प्रारम्भिक बयान दिएको प्रहरी स्रोतलाई उद्धृत गर्दै यसअघि प्रहरीले जनाएको थियो।
ज्योति दैनिकको खोजमा प्राप्त थप सूचनाअनुसार उक्त किशोर बाटोमा आफ्ना एक साथीलाई भेटेपछि दुवै जना सँगै भएको र पसलबाट चकलेट खरिद गरी बालिकालाई चकलेट दिएर सुनसान घरमा लगिएको दाबी गरिएको छ। प्राप्त विवरणअनुसार बालिकामाथि मुख्य रूपमा उनका साथीले जबर्जस्ती करणी गरेको र किशोर घरबाहिर निगरानीमा बसेको दाबी गरिएको छ।
यद्यपि, घटनामा कसको कस्तो भूमिका थियो भन्ने विषयमा प्रहरीले औपचारिक रूपमा पुष्टि गर्न बाँकी छ। पक्राउ परेका व्यक्तिहरूको बयान, घटनास्थलबाट संकलित प्रमाण, फरेन्सिक परीक्षण तथा अन्य प्राविधिक अनुसन्धानबाट मात्रै घटनाको वास्तविकता स्थापित हुने देखिन्छ।
प्राप्त सूचनाअनुसार बालिकाले प्रतिरोध गर्दै रुँदै–कराउँदै गर्दा उनलाई डर–त्रास देखाइएको र पछि घाँटीमा डोरी प्रयोग गरी हत्या गरिएको दाबीसमेत गरिएको छ। यो विवरणको स्वतन्त्र पुष्टि भने हुन बाँकी छ।
बालिका ३१ साउन बिहान घरबाट हराएकी थिइन्। तीन दिनसम्म खोजीका क्रममा प्रहरी र स्थानीयसँगै पक्राउ परेका किशोरसमेत बालिकाको खोजीमा हिँडेको बताइएको छ। तालिमप्राप्त कुकुरले ती किशोरतर्फ संकेत गरेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएर सोधपुछ गरेको र त्यसपछि अर्को व्यक्तिसमेत पक्राउ गरिएको प्रहरीको भनाइ छ।
बालिकाको शव मंगलबार साँझ घरबाट करिब दुई सय मिटर टाढा भक्तिनगरस्थित वीरबहादुर रोकाको खाली घरभित्र फेला परेको थियो। घरबाट दुर्गन्ध आउन थालेपछि स्थानीयले शंका गरी खोजी गर्दा बालिकाको शव भेटिएको थियो।
घटनामा प्रयोग भएको भनिएको सवारीसाधन र त्यससँग सम्बन्धित व्यक्तिहरूको भूमिकाबारे समेत प्रहरीले अनुसन्धान गरिरहेको छ। पक्राउ परेका किशोर उक्त सडकखण्डमा चल्ने म्याजिक भ्यानका सहचालक रहेको र अर्को पक्राउ परेका व्यक्ति उक्त सवारीसाधनका चालक तथा धनी रहेको प्रहरी विवरणमा उल्लेख छ।
यसैबीच, ज्योति दैनिकको खोजमा अर्को संवेदनशील दाबीसमेत प्राप्त भएको छ। घटनामा संलग्न भनिएका एक व्यक्तिको अभिभावकको मृत्यु भइसकेको र उनी सिमरास्थित मामाघरमा बस्दै आएको दाबी गरिएको छ। साथै उनी तत्कालीन जितपुरसिमरामा कार्यरत एक प्रहरी निरीक्षकका नातेदार रहेको दाबीसमेत प्राप्त भएको छ। तर यी सम्बन्ध र घटनामा कुनै संरक्षण वा प्रभावको भूमिका रहेको भन्ने विषयमा अहिलेसम्म कुनै आधिकारिक पुष्टि भएको छैन।
घटनाको अनुसन्धानमा कुनै व्यक्ति वा सम्बन्धका आधारमा प्रभाव परेको हो वा होइन भन्ने प्रश्नसमेत उठेको छ। त्यसैले प्रहरीले पक्राउ परेकाहरूको सम्बन्ध, घटनाको पूर्वयोजना, घटनास्थलसम्म बालिका कसरी पुर्याइयो, हत्या कसरी भयो तथा घटनापछि शव कसरी लुकाइयो भन्ने विषयमा निष्पक्ष र प्रमाणमा आधारित अनुसन्धान गर्नुपर्ने देखिन्छ।
प्रहरीले बालिकाको शव पोस्टमार्टम तथा फरेन्सिक परीक्षणका लागि पठाइसकेको छ। पोस्टमार्टम तथा फरेन्सिक रिपोर्ट, घटनास्थलबाट संकलित प्रमाण र पक्राउ परेकाहरूको बयानपछि मात्रै घटनाको वास्तविक प्रकृति थप स्पष्ट हुने प्रहरीको भनाइ छ।
तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको घटनाले स्थानीयस्तरदेखि प्रतिनिधिसभासम्म गम्भीर चिन्ता उत्पन्न गरेको छ। सांसदहरूले समेत घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि कडा कानुनी कारबाही गर्न सरकारसँग माग गरेका छन्।
यो विषयमा जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मिन बहादुर घलेले हाम्रो अनुसन्धानबाट अहिलेसम्म ती व्यक्तिको नाम नखुलेको साथै अनुसन्धान भइरहेको बताए ।
“तर, बारा प्रहरीले अनुसन्धान गरिरहेकै क्रममा सार्वजनिक भएको एक भिडियोले ती बालक नै मुख्य आरोपित रहेको पुष्टि भएको छ।”