पर्सा । प्रसौनी गाउँपालिका वडा नं. १ को मुख्य बजार क्षेत्रमा निर्माण सम्पन्न भएको बहुउद्देश्यीय भवनको धार्मिक तथा वैदिक विधिअनुसार पूजा कार्यक्रम सम्पन्न भएको छ।
भदौ १० गते आयोजित उक्त कार्यक्रममा मुख्य कर्ताका रूपमा विनोद प्रसाद जैसवाल सहभागी हुनुभएको थियो। वैदिक मन्त्रोच्चारणसहित सम्पन्न पूजाआजापछि उपस्थित श्रद्धालु तथा सहभागीहरूलाई प्रसाद वितरण गरिएको थियो।
स्थानीय पूर्वाधार विकास तथा नागरिक सुविधालाई मध्यनजर गर्दै निर्माण गरिएको उक्त बहुउद्देश्यीय भवन ३ करोड ४३ लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको गाउँपालिकाले जनाएको छ। बजार क्षेत्रको केन्द्रभागमा अवस्थित यस भवनले आगामी दिनमा सामाजिक, सांस्कृतिक, शैक्षिक, सार्वजनिक तथा प्रशासनिक गतिविधि सञ्चालनका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।
पूजा कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य कर्ता जैसवालले गाउँपालिकाको समग्र विकास तथा स्थानीय समुदायको साझा हितका लागि आधुनिक र सुविधासम्पन्न पूर्वाधार निर्माण हुनु गौरवको विषय भएको बताउनुभयो।
यसअघि व्यवस्थित सभा तथा कार्यक्रम स्थलको अभावका कारण स्थानीयवासीले सार्वजनिक भेला, तालिम, गोष्ठी, सामाजिक तथा सांस्कृतिक कार्यक्रम सञ्चालनमा कठिनाइ भोग्दै आएका थिए। नवनिर्मित भवन सञ्चालनमा आएपछि यस्ता गतिविधि व्यवस्थित र सहज रूपमा सञ्चालन हुने विश्वास व्यक्त गरिएको छ।
स्थानीयवासीका अनुसार बजार क्षेत्रमै निर्माण भएको उक्त बहुउद्देश्यीय भवनले सेवा प्रवाहलाई थप प्रभावकारी बनाउनुका साथै सामुदायिक गतिविधिका लागि केन्द्रको रूपमा समेत काम गर्नेछ।