बारा । बाराको कलैया उपमहानगरपालिका–१४ लक्ष्मिनिया चोकमा मोटरसाइकल दुर्घटनामा परी जनमत पार्टीका केन्द्रीय सदस्य सुजित पाण्डेको मृत्यु भएको छ।
मृतक पाण्डे कलैया उपमहानगरपालिका–१४ निवासी ३३ वर्षीय हुन्। जिल्ला प्रहरी कार्यालय बाराका अनुसार बिहीबार राति करिब १० बजे बघवनबाट कलैयातर्फ आउँदै गरेको मधेस प्रदेश ०३–०२८ प ७१९६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटनामा परेको थियो।
दुर्घटनामा गम्भीर घाइते भएका पाण्डेलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल कलैया पुर्याइएको थियो। त्यहाँ प्रारम्भिक उपचारपछि थप उपचारका लागि वीरगन्जस्थित बयोधा मेडिसिटी अस्पताल रेफर गरिएको थियो।
अस्पतालमा उपचारकै क्रममा चिकित्सकले राति १०ः५० बजे उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले जानकारी दिएका छन्।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।