काठमाडौं । रसुवागढी जलविद्युत् केन्द्रभित्र फसेका चार कर्मचारीलाई सकुशल उद्धार गरिएको छ। प्रतिकूल मौसमका बीच उद्धार टोलीले केन्द्रभित्र फसेका कर्मचारीलाई सुरक्षित स्थानमा ल्याउन सफल भएको हो।
उद्धार गरिएका कर्मचारीमा भक्तबहादुर माझी, बलबहादुर माझी, राजन विक र सुनिल माझी रहेका छन्। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको सचिवालयका अनुसार उद्धार कार्य चुनौतीपूर्ण मौसमका बीच सम्पन्न गरिएको हो।
यसैबीच, त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनामा सम्भावित जोखिमलाई मध्यनजर गर्दै आवश्यक उद्धार तयारी अघि बढाइएको छ। बाढी प्रभावित अपर त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनामा फसेका व्यक्तिको उद्धारका लागि आवश्यक सामग्रीसहित विशेष हेलिकप्टर परिचालन गरिएको जनाइएको छ।
उद्धार कार्यलाई थप प्रभावकारी बनाउन टनेलभित्र फसेकाहरूको खोज तथा उद्धारका लागि विशेष टोली आवश्यक उपकरणसहित प्रभावित क्षेत्रमा खटाइएको छ। प्रतिकूल मौसमका कारण केही कठिनाइ उत्पन्न भए पनि उद्धार अभियानलाई उच्च प्राथमिकताका साथ निरन्तर सञ्चालन गरिएको सम्बन्धित निकायले जनाएको छ।