काठमाडौं / बाढीबाट क्षतिग्रस्त बनेका सडक तथा पुलमार्फत आवतजावत पुनः सुचारु गर्न नेपाल सरकारले भारत र चीनसँग ४२ वटा बेलिब्रिज निर्माणका लागि सहयोग माग गरेको छ।
परराष्ट्र मन्त्रालय स्रोतका अनुसार विपद् प्रभावित क्षेत्रमा तत्काल यातायात सञ्चालन गर्न आवश्यक पर्ने बेलिब्रिजको संख्या उल्लेख गर्दै दुवै छिमेकी राष्ट्रसँग सहयोगका लागि अनुरोध गरिएको हो।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाढीका कारण अवरुद्ध बनेका मार्गहरू पुनः सञ्चालन गर्न कम्तीमा ४२ वटा बेलिब्रिज आवश्यक पर्ने निष्कर्ष निकालेपछि सरकारले आवश्यक कूटनीतिक पहल अघि बढाएको जनाएको छ।
सरकारले विदेशी सहयोगलाई प्राधिकरणको आवश्यकता र प्राथमिकताअनुसार परिचालन गर्ने व्यवस्था मिलाएको छ। यसैक्रममा भारत र चीनबाट प्राप्त हुने सम्भावित सहयोगलाई प्रभावित क्षेत्रमा केन्द्रित गरिने बताइएको छ।
हालैको बाढीले रसुवा, नुवाकोट र धादिङ जिल्लाका अधिकांश पुलमा क्षति पुर्याएको छ। पुल भत्किएपछि विभिन्न स्थानमा दुईतर्फी आवतजावत पूर्ण रूपमा प्रभावित बनेको छ।
यसअघि भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले नेपाललाई आवश्यक परेको खण्डमा बेलिब्रिजसहित अन्य पूर्वाधार पुनःस्थापनामा सहयोग गर्न भारत तयार रहेको बताएका थिए।