काठमाडौं l रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण मृत्यु हुनेको संख्या ५३८ पुगेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार सयौँ व्यक्ति अझै सम्पर्कविहीन रहेका छन्।
प्राधिकरणका अनुसार बाढीबाट सबैभन्दा बढी प्रभावित चितवनमा २२१ जनाको मृत्यु भएको छ। नवलपरासी (पूर्व) मा १३४, गोरखामा ४६, नुवाकोटमा ३७, धादिङमा ३३, तनहुँमा २८, नवलपरासी (पश्चिम) मा २७ तथा रसुवामा १२ जनाको शव फेला परेको छ।
विपद्मा परी ७३ जना घाइते भएका छन्। घाइतेमध्ये रसुवाका ४३, नुवाकोटका २७ र धादिङका ३ जना रहेका छन्।
बाढीपछि हालसम्म ९७७ जना सम्पर्कविहीन रहेको विवरण सार्वजनिक गरिएको छ। बेपत्तामध्ये ५१७ विदेशी नागरिक र नेपाल भ्रमणमा आएका विदेशमा बसोबास गर्ने १२७ जना नेपालीसमेत रहेका छन्। साथै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा सरकारी कार्यालयका केही कर्मचारीको अवस्था पनि अझै अज्ञात रहेको जनाइएको छ।
खोज तथा उद्धार अभियानका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका गरी १४ हजार ८२९ सुरक्षाकर्मी परिचालन गरिएको छ। हालसम्म २५ विदेशी नागरिकसहित ३ हजार ७४२ जनाको उद्धार गरिएको छ।
सरकारले प्रभावित जिल्लामा राहत, उद्धार तथा पुनःस्थापनाका लागि नगद सहायता, खाद्यान्न, गैरखाद्य सामग्री र सञ्चार उपकरण उपलब्ध गराउँदै राहत अभियानलाई तीव्रता दिएको जनाएको छ।