काठमाडौं l रसुवाको बाढी प्रभावित क्षेत्रबाट हालसम्म १२१ जना विदेशी नागरिकको सकुशल उद्धार गरिएको छ। नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको विवरणअनुसार बुधबार दिउँसो साढे ३ बजेसम्म उक्त सङ्ख्यामा विदेशी पर्यटक तथा नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको हो।
उद्धार गरिएकामध्ये सबैभन्दा धेरै ८५ जना भारतीय नागरिक रहेका छन्। त्यसैगरी १६ जना चिनियाँ, ९ जना दक्षिण कोरियाली, २ जना अमेरिकी, २ जना रूसी तथा २ जना इटालियन नागरिकको उद्धार गरिएको छ।
यसका अतिरिक्त बुल्गेरिया र स्विट्जरल्यान्डका एक–एक जना नागरिकलाई पनि सुरक्षित रूपमा उद्धार गरिएको पर्यटन बोर्डले जनाएको छ। तीन जना विदेशी नागरिकको उद्धार भए पनि उनीहरूको राष्ट्रियता भने हालसम्म खुल्न सकेको छैन।
नेपाल पर्यटन बोर्डले विदेशी नागरिकको सुरक्षा र उद्धारलाई उच्च प्राथमिकतामा राखेर सम्बन्धित निकायसँग समन्वय गर्दै आवश्यक सहजीकरण गरिरहेको जनाएको छ।