काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घन्टाको अवधिमा एक अर्ब ९१ करोड रुपैयाँभन्दा बढी सहयोग रकम संकलन भएको छ।
अर्थ मन्त्रालयका अनुसार बुधबार मध्याह्नदेखि बिहीबार राति १२ बजेसम्मको अवधिमा कोषमा कुल १ अर्ब ९१ करोड ८६ लाख ५० हजार ९११ रुपैयाँ जम्मा भएको हो।
हालै आएको विनाशकारी बाढी, पहिरो तथा अन्य प्राकृतिक विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सरकारद्वारा सञ्चालन गरिएको कोषमा विभिन्न व्यक्ति, संघसंस्था, निजी क्षेत्र तथा शुभेच्छुकहरूबाट सहयोग प्राप्त भइरहेको मन्त्रालयले जनाएको छ।
विपद्को कठिन घडीमा देशभित्र तथा बाहिर रहेका नेपालीहरूले देखाएको ऐक्यबद्धता र सहयोग भावनाले राहत तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउन मद्दत पुगेको सरकारको विश्वास छ।
सरकारले प्रभावित क्षेत्रका नागरिकको तत्काल राहत, उद्धार तथा पुनःस्थापनाका कार्यलाई तीव्रता दिइरहेको जनाएको छ।