वीरगञ्ज । ठगीसम्बन्धी कसुरको मुद्दामा फरार रहेका हरिनारायण रौनियारसहित चार जनाविरुद्ध पक्राउ पुर्जी जारी भएपछि उनीहरूको खोजी तथा पक्राउका लागि जिल्ला प्रहरी कार्यालय धनुषाले सम्बन्धित प्रहरी निकायलाई पत्राचार गरेको छ।
अरुणकुमार साहले दिएको जाहेरीका आधारमा दर्ता भएको ठगीसम्बन्धी कसुरको मुद्दामा अनुसन्धानका क्रममा फरार रहेका प्रतिवादीहरूलाई नियन्त्रणमा लिन धनुषा जिल्ला अदालतबाट २०८३ असार २० गते पक्राउ पुर्जी जारी गर्ने अनुमति प्राप्त भएको प्रहरी स्रोतले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय धनुषाको अपराध अनुसन्धान शाखाद्वारा पठाइएको पत्रमा अदालतको आदेशपछि प्रतिवादीहरूको घरठेगाना तथा उनीहरू लुकिछिपी बस्न सक्ने सम्भावित स्थानहरूमा खोजतलास गर्न निर्देशन दिइएको उल्लेख छ। फेला परेमा तत्काल पक्राउ गरी जिल्ला प्रहरी कार्यालय धनुषामा बुझाउन सम्बन्धित प्रहरी कार्यालयलाई अनुरोध गरिएको छ।
पक्राउ पुर्जी जारी भएका व्यक्तिहरूमध्ये सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका–६ स्थायी घर भई हाल काठमाडौं महानगरपालिका–१० बुद्धनगर बस्दै आएका जेभी कम्पनीका सञ्चालक ३० वर्षीय धनबहादुर बस्नेत रहेका छन्।
यस्तै पर्साको वीरगञ्ज महानगरपालिका–७ निवासी ५८ वर्षीय हरिनारायण रौनियार, ३६ वर्षीया श्रुति रौनियार तथा ४५ वर्षीय सुमित रौनियारलाई पनि अनुसन्धानका लागि उपस्थित गराउन खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय धनुषाले चारै जनाको खोजतलास तथा पक्राउका लागि जिल्ला प्रहरी कार्यालय पर्सासहित अन्य सम्बन्धित सुरक्षा निकायलाई समेत जानकारी गराइसकेको छ। प्रहरीको पत्रमा प्रतिवादीहरू लुक्न सक्ने सम्भावित स्थानहरूमा समेत निगरानी बढाई फेला परे तत्काल नियन्त्रणमा लिन भनिएको छ।
ठगीसम्बन्धी कसुरमा अनुसन्धान जारी रहेको र पक्राउपछि प्रतिवादीहरूमाथि थप कानुनी प्रक्रिया अघि बढाइने जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।