काठमाडौं । बुधबार बिहान चीनको तिब्बतबाट रसुवास्थित भोटेकोशी नदीमा आएको भिषण बाढीबाट प्रभावित भएकाहरूमध्ये नेपाली सेनाले हालसम्म १६३ जना विदेशी नागरिकसहित २ हजार ४ सय ६५ जनाको सकुशल उद्धार गरेको छ।
भाद्र १३ गते (आज) बिहान ८ बजेसम्मको अद्यावधिक विवरण अनुसार बाढी प्रभावित क्षेत्रबाट १६३ जना विदेशी नागरिकसहित २४६५ जनाको सकुशल उद्धार गरिएको नेपाली सेनाले जनाएकाे छ ।
सेनाको हवाई साधनमार्फत टिमुरे, स्याफ्रुवेशी, धुन्चे र मैलुङ इलाकाबाट विदेशी नागरिकहरूको उद्धार गरिएको हो। उद्धार गरिएका विदेशीहरूमा ११३ भारतीय, २६ चिनियाँ, १५ कोरियन, ४ जर्मन, २ अमेरिकी, २ इटालियन र १ ओमानका नागरिक रहेका छन्। टनेलबाट उद्धार गरिएका १९१ जनासहित हवाई मार्गबाट २२६५ जना र स्थल मार्गबाट २०० जना गरी कुल २४६५ जनाको उद्धार गरिएको नेपाली सेनाले जनाएको छ।
बाढी प्रभावित क्षेत्रमा उद्धारसँगै स्वास्थ्य सेवा र राहत वितरणको काम पनि निरन्तर चलिरहेको छ । त्रिशूली र धुन्चेमा स्थापित आपत्कालीन उपचार केन्द्रहरूबाट हालसम्म १७०६ जनाले उपचार सेवा पाएका छन्।
त्यस्तै प्रभावित जिल्लाहरूमा खोजी, उद्धार र राहतका लागि ६ हजार ७ सयभन्दा बढी सेनाका जवानहरू परिचालन गरिएका छन्।
काठमाडौँबाट त्रिशूलीसम्म स्थल मार्ग र त्यहाँबाट हेलिकप्टरमार्फत ( 3A) टनेलमा ३६०० केजी, मैलुङमा ५०० केजी र बेत्रावतीमा २२० केजी राहत सामग्री पुर्याइएको छ। उद्धार कार्यलाई थप प्रभावकारी बनाउन भाद्र १२ गतेदेखि नै ( 3A) टनेल इलाकामा नेपाली सेनाका ८४ जनासहित सशस्त्र प्रहरी र नेपाल प्रहरी गरी १४६ जनाको संयुक्त टोली खटिएको छ।