पर्सा । रसुवाको भोटेकोशी नदीमा बुधबार आएको बाढी तथा पहिरोपछि मधेश प्रदेशका आठ जिल्लाका १५१ जना अझै सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ। शनिबार बिहानसम्म प्राप्त विवरणअनुसार बाढीपहिरोपछि सम्पर्कविहीन भएका १७४ जनामध्ये २३ जना सम्पर्कमा आएका छन्।
मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक प्रभुप्रसाद ढकालका अनुसार सबैभन्दा बढी सप्तरीका ४७ जना सम्पर्कविहीन छन्। सप्तरीमा बाढीपहिरोपछि ४८ जना सम्पर्कविहीन भएकामा एक जना सम्पर्कमा आएका छन्।
त्यसैगरी, पर्सामा ३९ जना सम्पर्कविहीन भएकोमा तीन जना सम्पर्कमा आएपछि ३६ जना अझै सम्पर्कविहीन छन्। बारामा २३ जना सम्पर्कविहीन भएकामा तीन जना सम्पर्कमा आएका छन्। बारामा २० जना अझै सम्पर्कविहीन छन्।
रौतहटमा १७ जना सम्पर्कविहीन भएकामा छ जना सम्पर्कमा आएका छन्। रौतहटमा ११ जना अझै सम्पर्कविहीन छन्। सर्लाहीमा १५ जना सम्पर्कविहीन भएकामा तीन जना सम्पर्कमा आएका छन् भने १२ जना अझै सम्पर्कविहीन छन्।
महोत्तरीमा १७ जना सम्पर्कविहीन भएकामा दुई जना सम्पर्कमा आएका छन्। महोत्तरीमा १५ जना अझै सम्पर्कविहीन छन्। धनुषामा पाँच जना सम्पर्कविहीन भएकामा चार जना सम्पर्कमा आएपछि एक जना अझै सम्पर्कविहीन छन्।
सिरहामा १० जना सम्पर्कविहीन भएकामा एक जना सम्पर्कमा आएका छन्। सिरहामा नौ जना अझै सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार बाढीपहिरोपछि मधेश प्रदेशका आठ जिल्लामा सम्पर्कविहीन हुनेको प्रारम्भिक संख्या १७४ थियो। शनिबार बिहानसम्म २३ जना सम्पर्कमा आएपछि १५१ जना अझै सम्पर्कविहीन रहेको विवरण प्राप्त भएको छ।