चितवन । रसुवा बाढीमा परी चितवन जिल्लाका विभिन्न स्थानबाट हालसम्म सङ्कलन गरिएका २ सय ३३ वटा शवमध्ये पहिचान हुन नसकेका २ सय २९ वटा शव गाड्ने निर्णय गरिएको छ ।
पहिचान भएका ४ वटा शवबाहेक बाँकी शवहरू सडे(गलेको अवस्थामा पुगेका र महामारी फैलिने उच्च जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय चितवनले यस्तो निर्णय गरेको हो ।
होल्डिङ सेन्टर, स्वास्थ्य संस्था तथा नदी तटीय क्षेत्रबाट सङ्कलन गरिएका शव तथा शवका अवशेषहरू कुहिन थालेको र दुर्गन्धका कारण सङ्क्रमण एवम् महामारी फैलिने स्वास्थ्य क्षेत्रका विज्ञहरूले चेतावनी दिएका थिए।
सोही राय र विश्लेषणका आधारमा शवहरूलाई थप सड्न–गल्न नदिन, सुरक्षित र कानुनी रूपमा व्यवस्थापन गर्न यो बाध्यता उत्पन्न भएको प्रशासनले जनाएको छ।
जिल्ला सुरक्षा समिति चितवनको आज बिहान बसेको बैठकको निर्णयानुसार पहिचान नभएका तथा वेवारिसे शव व्यवस्थापन (पहिलो संशोधन) निर्देशिका, २०८३ बमोजिम शवहरूको व्यवस्थापन गरिने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जनाएका छन् ।
भविष्यमा पहिचानका लागि सहज होस् भनेर शवहरूको डिएनए नमूना सङ्कलन गरी सङ्केत नम्बरका आधारमा विस्तृत अभिलेख सुरक्षित राखिने पनि जनाइएको छ।
शवहरूको अन्तिम संस्कार भरतपुर महानगरपालिका वडा नं १ स्थित देवघाटको खुला स्थानमा जमिनमुनि गाडेर गरिने विज्ञप्ति मार्फत प्रजिअ अर्यालले जानकारी दिएका छन् ।
बाध्यताका कारण शवहरूलाई जमिनमुनि व्यवस्थापन गर्नुपरेको भन्दै जिल्ला प्रशासन कार्यालयले पीडित परिवारजनमा पर्न गएको असुविधाप्रति क्षमायाचना समेत मागेको छ ।
