नुवाकोट । गत बुधबार बिहान रसुवास्थित भोटेकोशीमा एक्कासी आएको बाढीपछि सम्पर्कविहीन भएका व्यक्तिहरूका आफन्त उद्धारबाट सन्तुष्ट देखिँदैनन् ।
अहिले बेपत्ता व्यक्तिहरूका आफन्तहरू नुवाकोटस्थित श्री नं. १ सैन्य तालिम केन्द्र त्रिशूलीमा आफन्तको पखाईमा छन् ।
हरेक पटक हेलिकप्टर ल्याण्ड हुँदा आफन्त जिवितै फर्किएकी भन्ने आशासहित उनी हेलिकप्टरतिर आँखा डुलाउँछन् ।
अनि आफन्त नफर्केको थाहा भएपछि निराश हुँदै फेरि अर्को हेलिकप्टर ल्याण्डको पखाईमा हुन्छन् । चार दिनदेखि यस्तै दैनिकी बिताउँदै आफन्तहरू अहिले पनि त्रिशूली आर्मी ब्यारेकमा केन्द्रित छन् ।
आफन्त जिवितै फर्केनेहरू खुसी देखिन्छन् । तर अहिलेसम्म सम्पर्कविहीन भएका व्यक्तिहरूका आफन्त भने खोजी तथा उद्धारबाट असन्तुष्ट छन् ।
लमजुङ घर भएका सोभित पोखरेल ३ दिनदेखि त्रिशूली ब्यारेकमा छन् । उनका छिमेकी दिदी बेपत्ता छिन् । उनका दिदी मेकानिकल सब इन्जिनियरको रुपमा अपर त्रिशूली थ्री ‘ए’मा कार्यरत थिइन् । काम भइहरहेको थियो । उनका अनुसार त्यहाँ ४५ जना जति काममा थिए ।
एक्कासी बाढी आएपछि अहिले कसैसँग पनि सम्पर्क छैन । ‘अघिल्लो दिन बेलुका भिडियो कल भएको थियो भाइसँग । कलमा ७ बजेदेखि ड्युटी छ । १२ घण्टा काम हुन्छ भन्नुभएको थियो । अनि फेरि बेलुका कुरा गरौंला भन्नु भएको थियो । चार दिन भयो सम्पर्क हुन सकेन’ उनी भन्छन् ।
९ भदौको बेलुका भिडियो कल भएदेखि सम्पर्कविहीन भएका दिदीको पखाईमा उनी त्रिशूली ब्यारेकमा छन् ।
९ बजेर १८ मिनेट ५६ सेकेण्डमा टनेलमै लोकेशन देखिएको थियो । त्यसपछिको अवस्था केही जानकारी छैन । सुरुङको डिजाइन अनुसार सुरक्षित रहन सक्छन् भनेर विद्यत प्राधिकरणले भनेको छ । तर हामीलाई केही जानकारी छैन’ उनी भन्छन् ।
सोभित जस्तै आफन्त खोज्न त्रिशूली ब्यारेकमा दिन बिताउने अन्य व्यक्ति पनि छन् । उनीहरू पनि राज्यको उद्धारबाट सन्तुष्ट छैनन् । गृहमन्त्री आफैं गएर सक्रिय भएर उद्धारमा खटिनु भएको छ भन्ने प्रश्नमा पनि उनीहरू सन्तुष्ट छैनन् ।
‘समस्या के छ भने टनेल त बनायो तर उद्धार गर्न स्कील मेनपावर छैन । गृहमन्त्री आफैं टनेलमा गएर काम गरेको भनियो । उहाँलाई धन्यवाद । तर उहाँ १० दिन त्यही बसेर काम गरे पनि केही हुनेवाला छैन । उद्धार गर्न त स्कील मेनपावर चाहियो नि । एक्सपर्ट ल्याउनु पर्यो । नदीमा बालुवा निकालेजसरी एउटा स्काभेटर काम गरेको छ । त्यसरी कहिले हुन्छ उद्धार’ सोभित प्रश्न गर्छन् ।
दैनिक १५/२० वटा स्काभेटर खटाएर दक्ष मेनपावर खटाएर काम गर्नुपर्ने उनीहरूको सुझाव छ । तर त्यसरी काम नगरको भन्दै उनीहरू गुनासो गर्छन् । ‘अझ अफिस टाइम जस्तो दिनको ८ घण्टा काम गरेको भन्दै उनीहरू गुनासो गर्छन् । १५ वर्षअघि नाइट भिजिन चलाएर अपरशेन गर्ने आर्मी अहिले भने ६ नबज्दै भिजिबिलिट कम भन्दै काम रोक्छ’ बेपत्ता पीडितका आफन्तको आक्रोश छ ।
केही व्यक्ति त आफैं हिँड्दै ज्यानै जोखिममा राखेर टनेल भएको ठाउँसम्म पुगेका रहेछन् । उनीहरू राज्यको तर्फबाट नभई आफैं त्यहाँ पुगेको बताउँछन् । ‘पारितर्फबाट हिँड्दै चार जना टनेल भएको ठाउँमा पुगेका छन् । तर बाहिर आएजस्तो काम हुन सकेको छैन’ उनीहरू भन्छन् ।
आफन्त खोज्दै त्रिशूली ब्यारेक पुगेका कालिकोटका तपेन्द्र बिष्टको पीडा पनि उस्तै छ । उनका माइला भाइ त्रिशूली थ्री बीको टनेलमा बेपत्ता छन् । अहिलेसम्म उद्धार नभएको आक्रोश उनको पनि छ । कि सास देउ कि लास देउ भन्दै उनी आर्मी ब्यारेक पुगेका छन् । १० भदौको बिहान ८ बजेमात्रै उनको भाइसँग कुराकानी भएको थियो ।
त्यतिबेला ड्युटी सकेर कोठा जान लागेको बताएका धीरेन्द्र विष्ट त्यसपछि भने सम्पर्कविहीन छन् । उनीसँगैका नेपाल बिष्ट नाम गरेका व्यक्ति सम्पर्कविहीन छन् ।
बेपत्ता आफन्तको पखाईमा बसेका अधिकांशको एउटै स्वर छ जतिसक्दो चाँडो उद्धार हुनुपर्यो ।
टनेलमा उद्धारमा समय लागेको विषय विद्युत प्राधिकरणका कर्मचारीहरू पनि स्वीकार्छन् । अन्य ठाउँभन्दा जटिल रहेको र स्रोत साधान समेत पुर्याउन समस्या रहेकाले उद्धारमा केही कठिनाई रहेको उनीहरूको बुझाई छ ।