पर्सा । पर्साको जगन्नाथपुर गाउँपालिकाले रसुवा, नुवाकोटलगायतका जिल्लामा आएको भीषण बाढीपीडितका लागि राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुर्याउन विशेष आर्थिक सहयोग गर्ने निर्णय गरेको छ। गाउँपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादवको अध्यक्षतामा बसेको कार्यपालिका बैठकले विपद् व्यवस्थापन कोष, जनप्रतिनिधिहरूको सेवा-सुविधा तथा कर्मचारीहरूको तलबबाट रकम सङ्कलन गरी सहयोग उपलब्ध गराउने निर्णय गरेको हो।
गाउँपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादवले प्राकृतिक विपद्को यो कठिन समयमा पीडित नागरिकको सारथी बन्नु सबैको मानवीय दायित्व भएको बताउनुभएको छ। "आपतविपद्को बेला देशको जुनसुकै कुनामा रहेका नागरिकलाई सहयोग गर्नु हाम्रो उच्च कर्तव्य हो," अध्यक्ष यादवले भन्नुभयो, "हामीले आफ्नो स्रोत र सामर्थ्यले भ्याएसम्म बाढीपीडित दाजुभाइ तथा दिदीबहिनीहरूको घाउमा मलम लगाउने सानो प्रयास गरेका छौँ।"
गाउँपालिकाका अनुसार विपद् व्यवस्थापन कोषबाट ५ लाख ५१ हजार रुपैयाँ उपलब्ध गराइनेछ। साथै, निर्वाचित जनप्रतिनिधिहरूले आफ्नो एक महिनाको सेवा-सुविधा बराबरको रकम सहयोग गर्नेछन्। कर्मचारीहरूको हकमा स्थायी कर्मचारीको नेपाल सरकारको निर्णयबमोजिम, करारतर्फका अधिकृत स्तरका कर्मचारीको ५ दिनको र सहायक तथा श्रेणीविहीन कर्मचारीको ३ दिनको तलब बराबरको रकम कट्टा गरी राहत कोषमा जम्मा गरिनेछ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्देश यादवले यो निर्णयले संस्थागत सामाजिक उत्तरदायित्व र आत्मीयता दर्शाएको बताउनुभएको छ। "विपद् व्यवस्थापन र मानवीय सेवामा स्थानीय सरकार सधैँ अग्रपङ्क्तिमा रहनुपर्छ," प्रमुख प्रशासकीय अधिकृत यादवले थप्नुभयो, "कार्यपालिकाको यो निर्णयलाई अविलम्ब कार्यान्वयन गरी सङ्कलित रकम पारदर्शी र प्रभावकारी ढङ्गले सम्बन्धित बाढीपीडित राहत कोषमा हस्तान्तरण गर्नेछौँ।"
गाउँपालिकाले बाढीका कारण ज्यान गुमाएका नागरिकहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ। साथै प्रभावितहरूको शीघ्र उद्धार, उपचार र उचित पुनःस्थापनाका लागि प्रतिबद्धता व्यक्त गरेको छ।