वीरगञ्ज । ठगी तथा आपराधिक विश्वासघात सम्बन्धी कसुरको मुद्दामा अनुसन्धानका क्रममा फरार रहेका विकास एण्ड ब्रदर्स प्रा.लि.का सञ्चालक अरुणकुमार साहलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय पर्साले सम्बन्धित प्रहरी कार्यालयहरूलाई पत्राचार गरेको छ।
ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी कसुरको मुद्दामा अनुसन्धानका क्रममा फरार रहेका विकास एण्ड ब्रदर्स प्रा.लि.का सञ्चालक अरुणकुमार साहलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय पर्साले सम्बन्धित प्रहरी कार्यालयहरूलाई पत्राचार गरेको छ।
प्राप्त प्रहरी पत्रअनुसार, पर्सा जिल्ला अदालत, वीरगंजबाट पक्राउ पुर्जी जारी गर्न अनुमति प्राप्त भएपछि साहको खोजतलास तथा पक्राउका लागि सम्बन्धित प्रहरी कार्यालयहरूलाई पत्राचार गरिएको हो।
विकास एण्ड ब्रदर्स प्रा.लि.का सञ्चालक ६० वर्षीय अरुणकुमार साह धनुषा जिल्ला, जनकपुर उपमहानगरपालिका–१ का स्थायी बासिन्दा रहेको पत्रमा उल्लेख छ। उनीविरुद्ध परेको जाहेरीका आधारमा नेपाल सरकार वादी र अरुणकुमार साह प्रतिवादी रहेको ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी कसुरको मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साको अपराध अनुसन्धान शाखाले सम्बन्धित प्रहरी कार्यालयलाई साहको घरठेगाना तथा लुकिछिपी बस्न सक्ने सम्भावित स्थानहरूमा खोजतलास गर्न निर्देशन दिएको छ। खोजतलासका क्रममा फेला परेमा पक्राउ गरी जिल्ला प्रहरी कार्यालय पर्सामा पठाइदिन अनुरोध गरिएको छ।
यसैबीच, विकास एण्ड ब्रदर्स प्रा.लि.का सञ्चालक अरुणकुमार साहले विभिन्न सरकारी निर्माण तथा ठेक्का कार्य लिएको, तर लामो समयदेखि काम अलपत्र रहेको र सम्बन्धित पक्षलाई समयमा भुक्तानीसमेत नभएको गुनासो प्राप्त भएको छ।
गुनासोअनुसार, कम्पनीले वीरगंज महानगरपालिकाबाट पर्सा जिल्लाको भेडाहा खोला, दरदरवा नहर खोला हुँदै फन्ठी खोला सडक तथा उदयपुर घुर्जीको पुलदेखि ब्रह्मदेवको घरसम्मको सडक निर्माण कार्यको ठेक्का लिएको थियो।
त्यसैगरी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय, पर्साबाट भलुवाही खोला सिँचाइ आयोजना तथा अस्पताल निर्माणसम्बन्धी ठेक्का लिई कामहरू वर्षौंदेखि अलपत्र रहेको गुनासो पनि आएको छ।
प्रहरीले हाल अरुणकुमार साहको खोजी कार्य जारी रहेको जनाएको छ।