वीरगन्ज । वीरगन्जस्थित नारायणी अस्पतालबाट चोरी भएको एक दिने नवजात शिशुसहित प्रहरीले एक महिलालाई पक्राउ गरेको छ ।
बच्चा चोरी भएको करिब १६ घण्टापछि प्रहरीले शिशुलाई सकुशल फेला पारेको हो ।
प्रहरीले वीरगन्ज महानगरपालिका–१६ इनर्वाबाट नवजात शिशुसहित बच्चा चोरीमा संलग्न महिलालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा वीरगन्ज–१६ इनर्वाकी सबिना खातुन रहेको पर्साका प्रहरी उपरीक्षक पवन भट्टराईले जानकारी दिए ।
उनका अनुसार प्रहरीले रातभरि खोजी तथा अनुसन्धान अभियान सञ्चालन गरेर शिशुलाई लिएर भागेकी महिलालाई पक्राउ गरेको हो ।
पक्राउ परेकी खातुन र नवजात शिशुलाई अहिले जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
आइतबार राति नारायणी अस्पतालबाट एक दिने नवजात शिशु चोरी भएको थियो ।
सर्लाहीको रामनगर गाउँपालिका–३ बहुअर्वा निवासी रिन्कु देवीले शनिबार राति करिब ११ बजे शल्यक्रियामार्फत छोरालाई जन्म दिएकी थिइन् ।
अस्पतालमा रहेका शिशुको हजुरआमासँग एक महिलाले बच्चा खेलाउने भन्दै मागेकी थिइन् । बच्चा लिएपछि ती महिला अस्पतालबाट बेपत्ता भएकी थिइन् ।
घटनापछि परिवारले प्रहरीलाई खबर गरेसँगै प्रहरीले खोजी तथा अनुसन्धान तीव्र बनाएको थियो ।
सोही क्रममा प्रहरीले सोमबार बिहान शिशुसहित महिलालाई पक्राउ गरेको हो ।