काठमाडौं । सरकारले भोटेकोशी बाढीमा परेकाहरुको उद्धार तथा व्यवस्थापनका लागि मंगलबारसम्म ७ हजार ९९२ जना प्रहरी परिचालन गरेको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार बाढी प्रभावितहरुको उद्धार र व्यवस्थापनमा सहज होस् भनेर सुरक्षाकर्मी खटाइएका हुन् ।
प्रभावित क्षेत्रको बहुआयामिक समस्याहरू सम्बोधन गर्न र सम्भावित विपद्जन्य जोखिम न्यूनीकरण गर्न विभिन्न प्रदेश तथा युनिटहरूबाट ठुलो संख्यामा प्रहरी टोली खटिएका छन्। खटिएका प्रहरीमध्ये प्रहरी प्रधान कार्यालयबाट १ हजार ६०२ जना, वागमती प्रदेश प्रहरी कार्यालयबाट २ हजार १८२ जना, गण्डकी प्रदेशबाट १ हजार ३०९ जना, लुम्बिनी प्रदेशबाट ६४० जना र काठमाडौँ उपत्यका प्रहरी कार्यालयबाट ७५४ जना परिचालन भएका छन्।
यसैगरी, प्रहरी अस्पताल महाराजगञ्जबाट ३९७ जना, राप्रप्रप्र महाराजगञ्जबाट ४५० जना, प्रहरी शिक्षालयबाट ३५६, प्रयुताके जर्गाहबाट २२२ जना प्रही खटिएका छन्। बाढी प्रभावित क्षेत्रहरूमा प्रभावकारी कार्यसम्पादनका लागि प्रहरी प्रधान कार्यालयमै आपतकालीन समन्वय केन्द्र स्थापना गरिएको छ।
यस्तै, यस विपद्सम्बन्धी सम्पूर्ण कार्य तथा तथ्याङ्क व्यवस्थापनका लागि प्रहरी नायब महानिरीक्षक (डीआईजी) को नेतृत्वमा २४ घण्टा सञ्चालन हुनेगरी विपद् उद्धार तथा समन्वय सूचना व्यवस्थापन केन्द्रु समेत गठन गरिएको छ।
अस्पताल र विमानस्थलमा फोकल डेस्क
विपद्का बेला घाइतेको उपचार र मृतकका परिवारसँगको समन्वयका लागि प्रहरीले अस्पताल र विमानस्थलमा ुफोकल डेस्क स्थापना गरी संस्थागत उत्तरदायित्व निर्वाह गरिरहेको छ। यसैगरी घाइतेहरू उपचार भइरहेको तथा शव संकलन गरिएका काठमाडैँसहित विभिन्न अस्पतालमा प्रहरी नायव उपरीक्षकहरूको नेतृत्वमा विशेष प्रहरी टोली परिचालन गरिएका छन्।
वीर अस्पतालमा ३० जना, सिभिल अस्पतालमा १३ जना, काठमाडौँ मेडिकल कलेजमा ५ जना प्रहरी खटाइएका छन् । त्रिभुवन शिक्षण अस्पतालमा प्रहरी नायब महानिरीक्षकको नेतृत्वमा ६२ जना खटाइएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरी उपरीक्षकको नेतृत्वमा ८ जना प्रहरीलाई देशी तथा विदेशी नागरिकको शव व्यवस्थापन र घाइतेहरूको लगत तयार पार्ने डेस्क स्थापना गरिएको छ।
यसैगरी, देशी तथा विदेशी नागरिकको शव व्यवस्थापन र घाइतेहरूको लगत तयार पार्ने डेस्कमा प्रहरी उपरीक्षक (एसपी) को नेतृत्वमा ८ जना प्रहरी खटिएका छन्।
वैज्ञानिक अनुसन्धान र प्रविधिको प्रयोग
बाढीग्रस्त क्षेत्रमा खोजी र अनुसन्धान कार्यलाई तीव्रता दिन प्रविधिको उच्च प्रयोग गरिएको छ। रसुवा, नुवाकोट र धादिङमा गरी कुल १२ वटा ड्रोनहरू परिचालन गरिएका छन्। पैदल गस्ती कठिन भएका दुर्गम क्षेत्रहरूमा पनि ड्रोनको सहायताले निगरानी र खोजी भइरहेको छ।
यस्तै, खोजी कार्यका लागि ५ जना तालिम प्राप्त कुकुर र सञ्चार विच्छेद भएका दुर्गम क्षेत्रहरूमा सूचना आदानप्रदानका लागि ७ वटा स्याटेलाइट फोन प्रयोगमा ल्याइएको छ। घटनास्थल अनुसन्धान र मुचुल्का कार्यका लागि ६७ जना तथा विभिन्न जिल्लामा शव पहिचान र व्यवस्थापनका लागि ७१५ जना प्रहरी परिचालन भएका छन्।
प्रभावित क्षेत्रहरूमा सिन अफ क्राइम अफिसरु सहितको टोली र शवहरूको डीएनए लगायतका वैज्ञानिक परीक्षणका लागि फरेन्सिक विज्ञहरूको विशेष टोली परिचालन गरिएको छ। घाइतेहरूको तत्काल उपचारका लागि नेपाल प्रहरी अस्पतालका विशेषज्ञ चिकित्सकहरूको टोलीसमेत प्रभावित क्षेत्रमा खटिएको छ।
ठगीमा संलग्नहरू पक्राउ
बाढी लगत्तै हुने चोरी, लुटपाट र ठगीजस्ता अराजक गतिविधिलाई नियन्त्रण गर्न प्रहरीले सुरक्षा घेरा कसिलो बनाएको छ। यस क्रममा विभिन्न जिल्लाबाट अमानवीय गतिविधिमा संलग्न अभियुक्तहरू पक्राउ परेका छन् ।
नारायणी नदीले बगाएर ल्याएको एक महिलाको शवबाट सुनको मुन्द्रा तथा गहना निकाल्दै गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि चितवन प्रहरीले अनुसन्धान गरेर चितवनको मदनपुरका २५ वर्षीय मदन गुरुङ र ३८ वर्षीय उमेश चौधरीलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको छ। विपद्को समयमा पीडितमाथि हुने यस्ता लुटपाट र अमानवीय गतिविधि कुनै पनि हालतमा सह्य नहुने प्रहरीले जनाएको छ।
यस्तै, बाढीले बगाएर धादिङको गल्छी –४, बेल्खुखोलास्थित त्रिशूली नदी किनारमा फेला ल्याएका बैंकका पैसा राख्ने सेफ तोडेर नगद रकम हिनामिना २९ स्थानीयलाई प्रहरीले नियन्त्रणमा लिई उनीहरूबाट ९२ लाख ६८ हजार ५०५ रुपियाँ बरामद गरिएको छ।
यसैगरी, बाढीका पीडितहरूका नाममा नक्कली पोस्ट बनाएर सामाजिक सञ्जाल फेसबुकमार्फत रकम असुल गर्न खोज्ने रामेछाप गोकुलगंगा –२, ठोसे बजार बस्ने ३२ वर्षीय सृजन कार्कीलाई प्रहरीले पक्राउ गरेको छ।
यस्तै, गल्छी –६ बैरेनी बजारस्थित सडक सफा गर्ने क्रममा बालुवा र लेदोले पुरिएको अवस्थामा १९ इन्च लम्बाइ र १६ इन्च चौडाइ भएको बन्द सेफ फेला परेको छ, जसलाई प्रहरी चौकी बैरेनीमा सुरक्षित राखिएको छ। परेवाटार मलेखु त्रिशूली नदीको बगरमा पनि नफोडेको अवस्थामा अर्को एउटा सेफ फेला परेको छ भने मलेखु खोलामा देखिएको अर्को सेफ निकाल्ने प्रयास जारी छ।
भौतिक क्षति र अवरोधको अवस्था
बाढीको बहाव पहाडबाट तराईतर्फ झर्दै गर्दा सम्भावित जोखिम न्यूनीकरणका लागि प्रहरीले विशेष ध्यान दिएको छ। चितवन नारायणी नदी आसपासमा मात्रै ७५७ प्रहरी परिचालन गरिएका छन्। यसका साथै भौतिक अवरोध हटाउन र फेला परेका सामग्री व्यवस्थापनमा पनि प्रहरी सक्रिय छ।
विपद्को यस संवेदनशील घडीमा नागरिकको सुरक्षा, राहत वितरणको सहजीकरण र पीडितहरूको उद्धारमा नेपाल प्रहरी निरन्तर खटिरहेको छ। प्रहरीले प्रभावित क्षेत्रका नागरिकहरूलाई संयमित रहन आग्रह गर्दै विभिन्न सामुदायिक सचेतना कार्यक्रमहरू पनि सञ्चालन गरिरहेको छ ।