पर्सा / जगरनाथपुर । नेपालमा समावेशी लोकतन्त्र र अधिकारमा आधारित विकासको चर्चा व्यापक भइरहँदा स्थानीय तहमा यसको व्यावहारिक कार्यान्वयनको चुनौती कायमै छ। यही पृष्ठभूमिमा पर्साको जगरनाथपुर गाउँपालिकाले लैङ्गिक समानता, अपाङ्गता तथा सामाजिक समावेशीकरण (GEDSI) र अपाङ्गता समावेशी विकास (DID) लाई आफ्ना नीति तथा कार्यक्रमको केन्द्रमा राख्ने प्रक्रिया तीव्र बनाएको छ।
गाउँपालिकाको सभा हलमा आयोजित एक दिने विशेष अन्तरक्रिया कार्यक्रममा जनप्रतिनिधि, नीति निर्माता, विषयगत शाखा प्रमुख तथा सामाजिक अभियन्ताहरूले अपाङ्गता भएका व्यक्तिहरूलाई 'दया र उपकारका पात्र' होइन, समान अधिकार सम्पन्न नागरिकका रूपमा मूलधारको विकासमा जोड्नुपर्नेमा एकमत व्यक्त गरेका छन्।
ACCESS परियोजना अन्तर्गत सामाजिक संस्था जिल्ला समन्वय समिति (SODCC) पर्साको आयोजना तथा एकाउन्टेबिलिटी ल्याब नेपालको प्राविधिक सहकार्यमा उक्त कार्यक्रम सम्पन्न भएको हो।
पहुँचयुक्त संरचना र बजेटमा समावेशी प्राथमिकता
गाउँपालिकाकी उपाध्यक्ष बविता सिंहको अध्यक्षतामा सम्पन्न अन्तरक्रियामा स्थानीय स्तरका भौतिक संरचना, सार्वजनिक सेवा र शिक्षा क्षेत्रलाई कसरी अपाङ्गतामैत्री बनाउन सकिन्छ भन्ने विषयमा गहन मन्थन भएको थियो। कार्यक्रममा प्रस्तुत गरिएका कार्यपत्रहरूमा अपाङ्गताको वर्गीकरण, समावेशी शिक्षाको अवधारणा, पहुँचयुक्त पूर्वाधार निर्माणका साथै बजेट व्यवस्थापन र स्रोत परिचालनका व्यावहारिक पक्षमा केन्द्रित रहेर छलफल चलाइएको थियो।
छलफलका क्रममा सहभागीहरूले गाउँपालिकाभित्रका विद्यालय तथा सार्वजनिक निकायका भवनहरूलाई अपाङ्गतामैत्री र सेवाहरूलाई सर्वसुलभ बनाउनुपर्नेमा विशेष जोड दिएका थिए। आगामी दिनमा निर्माण हुने योजना र विनियोजन हुने बजेटमा अपाङ्गता समावेशी विकास (DID) लाई अनिवार्य रूपमा प्राथमिकता दिने प्रतिबद्धतासमेत जनाइएको छ।
‘कसैलाई पछाडि नपार्ने’ मर्म कार्यान्वयनमा बल
कार्यक्रमले दिगो विकास लक्ष्यको मूल मर्म “कसैलाई पनि पछाडि नपार्ने (Leave No One Behind)” अवधारणालाई स्थानीय स्तरमा संस्थागत गर्न सरोकारवालाहरूबीच साझा समझदारी कायम गरेको आयोजक संस्थाले जनाएको छ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्देश कुमार यादवले समावेशी नीतिको प्रभावकारी कार्यान्वयनले मात्रै स्थानीय तहको वास्तविक विकास सम्भव हुने बताए। त्यसैगरी, स्थानीय वडाध्यक्षहरू, शाखा प्रमुखहरू, लैङ्गिक फोकल पर्सन, अपाङ्गता समन्वय समितिका प्रतिनिधि, विद्यालयका प्रधानाध्यापक तथा व्यवस्थापन समितिका पदाधिकारी एवं बाल क्लबका प्रतिनिधिहरूले स्थानीय नीति निर्माणमा सीमान्तकृत समुदायको आवाज समेट्न हातेमालो गर्ने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा एकाउन्टेबिलिटी ल्याब नेपालका CFA दिपेश पटेल, SODCC पर्साका कार्यकारी निर्देशक रुपक पाण्डे तथा कार्यसमिति सदस्य पूर्णवासी राउत लगायतले स्थानीय सरकार र गैरसरकारी क्षेत्रको साझा प्रयासले मात्रै समाजका हरेक वर्ग र समुदायसम्म विकासको फल पुर्याउन सकिने धारणा राखेका थिए।
यस अन्तरक्रियाले जगरनाथपुर गाउँपालिकामा निर्माण हुने भावी योजना, बजेट विनियोजन र सेवा प्रवाहलाई थप समावेशी र उत्तरदायी बनाउन दूरगामी मार्गदर्शन गर्ने अपेक्षा गरिएको छ।