कलैया । सवारी व्यवस्थापन र चुस्त सेवाको झुटा दाबी गर्दै आएका कलैया अस्थायी ट्राफिक प्रहरी चौकीका इन्चार्ज प्रिन्सानन्द यादवको असली रूप अहिले सार्वजनिक हुन थालेको छ। 'प्रभावकारी नेतृत्व' र 'सुधार'को आकर्षक नारा पछाडि व्यापक आर्थिक चलखेल, अवैध असुली र पदीय दुरुपयोगको कालो धन्दा मौलाएको भन्दै स्थानीय नागरिक र यातायात व्यवसायीहरू रुष्ट बनेका छन्।
सडक सुरक्षा र नागरिक सेवाका लागि खटिनुपर्ने ट्राफिक प्रहरी टोली अहिले केवल राजस्व छली, चेकिङका नाममा सर्वसाधारणलाई सास्ती दिने र पर्दापछाडि मोटो रकम असुल्ने संयन्त्रमा परिणत भएको आरोप छ। नियमानुसार कारबाही गर्नुको सट्टा रकम बार्गेनिङ गरेर सवारी साधन छाड्ने गरिएको र पहुँचहीन नागरिकमाथि कडा सास्ती थुपार्ने तर आर्थिक लेनदेन मिलाउनेलाई उन्मुक्ति दिने धन्दा चौकी प्रमुख यादवकै प्रत्यक्ष संरक्षणमा चलिरहेको दाबी स्थानीयको छ।
सुधारको भ्रामक प्रचार गरेर आफ्नो कमजोरी ढाकछोप गर्न सिपालु बनेका इन्चार्ज यादवको अपारदर्शी कार्यशैलीले समग्र प्रहरी सङ्गठनकै साखमाथि गम्भीर धक्का पुर्याएको छ। ट्राफिक चेकिङका नाममा दिनहुँ हुने आर्थिक शोषण र राजस्व संकलनमा देखिएको गडबडीले उहाँको नेतृत्व कुशल होइन, पूर्ण रूपमा भ्रष्ट र गैरजिम्मेवार रहेको पुष्टि गर्छ।
सार्वजनिक पदमा बसेर कानुनको धज्जी उडाउने र पदको दुरुपयोग गरी आर्थिक लाभ लिने यस्ता गतिविधिमाथि तालुकदार निकाय अझै मूकदर्शक बन्नु झनै रहस्यमय बनेको छ। केवल 'सबै ठीक छ' भन्दै पन्छिन खोज्नुले माथिल्लो तहको समेत संलग्नता छ कि भन्ने आशंका पैदा गरेको छ।
अझै पनि छानबिनमा ढिलाइ गरिएमा वा दोषीलाई उन्मुक्ति दिने खेल भएमा स्थानीय तहमा कडा विरोध प्रदर्शन हुने निश्चित छ। प्रहरी मुख्यालय र गृह प्रशासनले तत्काल यादवमाथि निष्पक्ष छानबिन गरी हदैसम्मको विभागीय र कानुनी कारबाही अगाडि नबढाए 'सुशासन' र 'प्रहरी सेवा' शब्दको नै धज्जी उड्ने देखिन्छ।