वीरगञ्ज । ‘युवा शक्ति–राष्ट्र शक्ति’ भन्ने नाराका साथ वीरगञ्ज स्थित डीएभी आर.बी. केडिया स्कुलमा नेत्रदान सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ। ‘नेत्रदान–एक वरदान’ भन्ने मुख्य सन्देशसहित कार्यक्रम ‘दृष्टिविहीनका लागि दृष्टि–२.०’ अभियान अन्तर्गत सञ्चालन गरिएको हो।
तेरापन्थ युवक परिषद् वीरगञ्ज र लायन्स क्लब अफ वीरगञ्ज संस्कृति गोल्डको समन्वयमा आयोजित कार्यक्रममा नेत्रदानको महत्त्व, आवश्यकता तथा नेत्रदान सम्बन्धी जनचेतनाबारे जानकारी दिइएको थियो।
कार्यक्रममा तेरापन्थ युवक परिषद् वीरगञ्जका अध्यक्ष सुनील दुगर, नेत्रदान इन्टरनेसनलका सह–प्रभारी लोकेश जैन, नेत्रदान संयोजक सौरभ जैन र पंकज बैद, तेरापन्थ युवक परिषद्का सदस्य आशिष चोरडिया तथा नेत्र परीक्षण अधिकृत हरिकान्त शाह लगायतको सहभागिता रहेको थियो।
कार्यक्रमका प्रमुख अतिथि लायन्स डिस्ट्रिक्ट गभर्नर लायन रामबिहारी पाण्डे तथा विशिष्ट अतिथि पीएमसीसी तथा मल्टिपल संयोजक लायन रमेश अग्रवाल रहेका थिए। कार्यक्रमको अध्यक्षता लायन्स क्लब अफ वीरगञ्ज संस्कृति गोल्डकी अध्यक्ष खुश्बु अग्रवालले गरेकी थिइन्।
कार्यक्रममा डीएभी आर.बी. केडिया स्कुलका प्रधानाध्यापक राकेश मिश्रा तथा उपप्रधानाध्यापक प्रदीपको समेत उपस्थिति रहेको थियो।
सो अवसरमा वक्ताहरूले मृत्युपछि आँखाको नानी दान गरेर दृष्टिविहीन व्यक्तिलाई दृष्टिको उज्यालो प्रदान गर्न सकिने बताएका थिए। नेत्रदानप्रति समाजमा रहेका भ्रम र हिचकिचाहट हटाउँदै यसलाई मानव सेवाको महत्वपूर्ण कार्यका रूपमा विकास गर्नुपर्नेमा उनीहरूले जोड दिए।
कार्यक्रममा लायन्स क्लब अफ वीरगञ्ज संस्कृति गोल्डका सदस्यहरू लायन कविता अग्रवाल, लायन रञ्जना टेकरीवाल, लायन सोनी अग्रवाल, लायन आयुषी तुल्स्यान र लायन नितु चौरसिया लगायतको सहभागिता रहेको थियो। कार्यक्रममा ५ जनाले आँखा दान गर्ने आवेदन फर्म पनि लिएर यो महान सामाजिक कार्यमा सहयोग गर्ने प्रतिवद्धता जनाएका छन ।
‘दृष्टिविहीनका लागि दृष्टि–२.०’ अभियान मार्फत युवाहरूलाई नेत्रदानका लागि प्रेरित गर्दै समाजमा ‘नेत्रदान–एक वरदान’ भन्ने सन्देश फैलाउने उद्देश्य रहेको आयोजकहरूले बताएका छन्।