वीरगञ्ज । नेपाल कम्युनिष्ट पार्टी (एमाले) पर्साभित्र संगठनात्मक जिम्मेवारी बाँडफाँटलाई लिएर मतभेद सार्वजनिक भएको छ। वीरगञ्ज महानगर कमिटीको संयोजकमा सुन्दर कुर्मीलाई मनोनयन गरेपछि पार्टीभित्रको असन्तुष्टि सतहमा आएको हो।
एमाले पर्साका जिल्ला अध्यक्ष डा. विषम्भरकुमार शर्माले जारी गरेको पत्रमार्फत सुन्दर कुर्मीलाई वीरगञ्ज महानगर कमिटीको संयोजकमा मनोनयन गरिएको थियो। उक्त निर्णय सार्वजनिक भएसँगै वीरगञ्ज महानगर कमिटीका कार्यवाहक अध्यक्ष लियाकत अलीले विज्ञप्ति जारी गर्दै गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्।
कार्यवाहक अध्यक्ष अलीले पार्टीको विधि, विधान तथा संगठनात्मक प्रक्रियाअनुसार छलफल र परामर्शबिनै निर्णय गरिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्। उनले यस्ता निर्णयले संगठनभित्र अन्योल सिर्जना गर्नुका साथै कार्यकर्तामाझ नकारात्मक सन्देश प्रवाह हुने बताएका छन्।
महानगर नेतृत्व र जिल्ला नेतृत्वबीच फरक धारणा सार्वजनिक भएपछि एमाले पर्साभित्रको आन्तरिक मतभेद बाहिरिएको राजनीतिक वृत्तमा चर्चा सुरु भएको छ। लामो समयदेखि भित्रभित्रै देखिँदै आएको असन्तुष्टि संयोजक मनोनयन प्रकरणसँगै सार्वजनिक बहसको विषय बनेको छ।
अब उत्पन्न विवादलाई पार्टी नेतृत्वले कसरी समाधान गर्छ र संगठनलाई एकताबद्ध बनाउँछ भन्ने विषयलाई चासोका साथ हेरिएको छ।