रौतहट । रौतहटको देवाही गोनाही नगरपालिका–३ गोठटोलमा प्रेम विवाह गरेको दुई महिनामै एक नवविवाहिताको शंकास्पद मृत्यु भएको छ । मृतकका माइती पक्षले उनको हत्या गरी आत्महत्या जस्तो देखाउन खोजिएको आरोप लगाएका छन् ।
देवाही गोनाही–३ का २२ वर्षीय रौनक राज पटेलले गत असार १९ गते गरुडा नगरपालिका–७ पिपरिया निवासी १८ वर्षीया सुमेदी कुमारी पटेललाई परिवारको सहमतिबिना भगाएर प्रेम विवाह गरेका थिए। विवाहपछि सुमेदी रौनककै घरमा बस्दै आएकी थिइन् ।
भदौ १७ गते बुधबार सुमेदी घरको भान्सा कोठामा सालको पासो लगाई झुन्डिएको अवस्थामा मृत फेला परेकी थिइन्। बुधवार बिहान ५ बजे मृतककी सासुले भान्सा कोठामा बुहारी लाई झुण्डिएको अवस्थामा हेरेर प्रहरीलाई खबर गरेको ईलाका प्रहरी कार्यालय देवाही गोनाहिले जनाएको छ।
घटनापछि उनको शव हिजो बिहीबार प्रादेशिक अस्पताल गौरमा पोस्टमार्टम गरिएको थियो। पोस्टमार्टमपछि बिहीबार बेलुकी उनको अन्त्येष्टि गरिएको प्रहरीले जनाएको छ।
मृतकका बुवा लालबाबु पटेलले विवाहपछि छोरीमाथि दाइजोको नाममा मानसिक तथा शारीरिक यातना दिने गरेको आरोप लगाएका छन्। उनका अनुसार रौनक, उनका बुवा सुभाष पटेल र बहिनीले ६ भर सुन, मोटरसाइकल, नगद तथा अन्य सामग्री दाइजोमा माग गरेका थिए।
दाइजो दिन अस्वीकार गरेपछि छोरीमाथि कुटपिट, दुर्व्यवहार र मानसिक यातना बढ्दै गएको माइती पक्षको दाबी छ। यही कारण छोरीको हत्या गरी झुन्ड्याएर आत्महत्या जस्तो देखाइएको हुनसक्ने लालबाबुले आशंका गरेका छन्।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी बसन्त गौतमले पोस्टमार्टम रिपोर्ट आएपछि मात्रै मृत्युको कारण यकिन हुने बताएका छन्।
इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डीएसपी शंकरप्रसाद आचार्यका अनुसार माइती पक्षले रौनकसहितका व्यक्तिविरुद्ध बिहीवार कर्तव्य ज्यानसम्बन्धी जाहेरी दिन खोजेका थिए। तर पोस्टमार्टम रिपोर्ट आएपछि घटनाको प्रकृतिअनुसार कानुनी प्रक्रिया अघि बढाउने सहमति भएपछि उनीहरू फर्किएको उनले बताएका छन्।
मृतकका आफन्तले घटनाको निष्पक्ष अनुसन्धान गरी सत्यतथ्य बाहिर ल्याउन र दोषी देखिए कानुनी कारबाही गर्न माग गरेका छन्।