वीरगन्ज । विश्व तेली दिवसको अवसर पारेर तेली कल्याण समाज पर्साले रसुवाका बाढी प्रभावित परिवारको राहत तथा पुनःस्थापनाका लागि १ लाख ५१ हजार रुपैयाँ सहयोग गरेको छ।
समाजले संकलन गरेको रकम बराबरको चेक सोमबार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी पर्सा क्षेत्र नम्बर २ का सांसद सुशीलकुमार कानुलाई हस्तान्तरण गरिएको हो।
तेली कल्याण समाज पर्साका अध्यक्ष ध्रुव साहले उक्त रकमको चेक सांसद कानुलाई हस्तान्तरण गरे। विपद्का कारण समस्यामा परेका परिवारलाई राहत पुर्याउने उद्देश्यले समाजले सहयोग रकम जुटाएको जनाएको छ।
चेक हस्तान्तरण कार्यक्रममा समाजका सचिव वीरेन्द्र साह, उपाध्यक्ष पारस साह, कोषाध्यक्ष नितेश गुप्ता, पर्सागढी नगरपालिकाका अध्यक्ष नन्दु प्रसाद साह, लालबाबु साह, पवन साह, मधुसूदन साह, बाराका कपिलदेव साह तेलीलगायतको उपस्थिति थियो।
त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका युवा नेता सुधीर पटेल, राजकुमार साह, राम आर्य र फैयाज अन्सारीको समेत कार्यक्रममा सहभागिता रहेको थियो।
समाजले विपद्को घडीमा प्रभावित समुदायलाई सहयोग गर्नु सबैको साझा जिम्मेवारी भएकाले सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गरिएको जनाएको छ।