काठमाडौँ। सुनसरीको देवानगञ्ज र सिरहाको गोलबजारमा भएको घटनाबारे छानबिन गर्न गठित दुईवटा समितिले छानबिन सकेर प्रतिवेदन बुझाएको करिब १ महिना भएको छ ।
दुई वटै समितिले भदौ २ मा गृहमन्त्री सुधन गुरुङलाई प्रतिवेदन बुझाएका थिए। प्रतिवेदन अहिलेसम्म कार्यान्वयनमा गएको छैन। प्रतिवेदन सार्वजनिक पनि गरिएको छैन । गृह मन्त्रालयका अधिकारीहरू प्रतिवेदन अध्ययनको चरणमा रहेको बताउँछन्।
दुई समुदायको बिचमा भएको विवाद सुरु भएपछि भएको झडपमा परेर सुनसरीको देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगञ्जमा ३ जनाले ज्यान गुमाए । साउन १० मा भएको सो घटनाको असर मधेस प्रदेशेको सिरहामा पनि फैलियो।
साउन १४ मा सिरहाको गोलबजारमा प्रदर्शन हुँदा प्रहरीसँगको झडपमा परेर १८ वर्षीय गणेश यादवले ज्यान गुमाए । दुवै घटनाका मृतकहरूलाई सरकारले सहिद घोषणा गरेको छ ।
कप्तानगञ्जको झडपमा मृत्यु हुनेमा ३० वर्षीय ओमप्रकाश मेहता, २० वर्षीय जयप्रकाश मेहता र २२ वर्षीय रविन्द्र मेहता छन् । चारै जनाको मृत्यु ‘सुरक्षाकर्मीको गोली लागेर’ भएको छानबिन समितिको निष्कर्ष छ ।
कप्तानगञ्ज घटनाबारे सहसचिव भूपेन्द्र थापा र गोलबजारमा भएको घटनाबारे गृह मन्त्रालयकै अर्का सहसचिव पुष्पराज शाही नेतृत्वको समितिले छानबिन गरेको थियो ।
दुवै समितिले सुरक्षाकर्मीकै गोलीबाट मानवीय क्षति भएको निष्कर्ष निकालेका छन् । समितिले दुई जना प्रमुख जिल्ला अधिकारी सहितका सुरक्षा कमान्डरहरूलाई कारबाही गर्न सिफारिस गरेको छ ।
सुनसरीका तत्कालीन प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरे र सिरहाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेललाई कारबाही गर्न समितिले सिफारिस गरेको छ । सुरेन्द्र पौडेललाई घटनापछि त्यहाँबाट सरुवा गरिएको थियो।
कप्तानगञ्ज घटनामा सुरक्षा व्यवस्थापनमा चुकेको भन्दै समितिले इलाका प्रहरी कार्यालय देवानगञ्जका तत्कालीन इन्स्पेक्टर राकेश राई, जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी चन्द्र खड्का र सशस्त्र प्रहरीका डीएसपी नन्दकिशोर महतलाई कारबाही गर्न सिफारिस गरिएको छ । गृह मन्त्रालयका एक जना उच्च अधिकृत भन्छन्, ‘प्रमुख जिल्ला अधिकारी र सुरक्षा कमाण्डहरुलाई विभागिय कारबाही गर्न समितिले सिफारिस गरेको छ ।’
सिरहाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, एसपी बासु पाठक, डीएसपी रमेश पाल र इलाका प्रहरी कार्यालय गोलबजारका तत्कालीन इन्स्पेक्टर सुदन केसीलाई कारबाही गर्न सिफारिस गरिएको छ ।
इन्स्पेक्टर केसीलाई अहिले त्यहाँबाट सरुवा गरिएको छ। समितिले कारबाहीको प्रकृति तोकेको छैन। गृह मन्त्रालयका एक जना उच्च अधिकारीका अनुसार ‘विभागीय कारबाही’ गर्न समितिले भनेको छ ।
सिरहामा प्रहरीले ७ राउण्ड हवाई फायर र दुई राउण्ड गोली प्रदर्शनकारी तर्फ फायर गरेको छानबिन समितिले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ । कप्तानगञ्जमा नेपाल प्रहरी र सशस्त्रले चलाएको गोली लागेर ३ जनाको मृत्यु भएको छानबिनबाट देखिएको छ । कप्तानगञ्जमा कुल २० राउण्ड गोली चलेको भेटिएको छ।
कप्तानगञ्जमा भएको झडप नियन्त्रणमा लिन इलाका प्रहरी कार्यालय देवानगञ्जका इन्स्पेक्टर राकेश राई र प्रहरी चौकी कप्तानगञ्जका असई प्रकाश कुमार श्रेष्ठ खटिएका थिए।
दुवै समुदायका मानिसहरूले उनीहरूलाई चिर्पट, ढुङ्गा, बाँस र लाठी मार्फत आक्रमण सुरु गरेपछि घटनास्थलमा सशस्त्र प्रहरी परिचालन गरिएको थियो।
घटनास्थलमा इन्स्पेक्टर राईले गोली चलाएको छानबिनबाट देखिएको छ । पछि सशस्त्रका सुरक्षाकर्मीले पनि गोली चलाएको र मानवीय क्षति भएको छानबिन समितिको निष्कर्ष छ।
सिरहाको गोलबजारमा सशस्त्र प्रहरीले गोली चलाएको भेटिएको छैन । गोलबजारमा प्रहरीले चलाएको गोली लागेर गणेश यादवको मृत्यु भएको छानबिन समितिको निष्कर्ष छ।
गृह मन्त्रालयका एक जना उच्च अधिकृतका अनुसार गोलबजारमा ७ राउण्ड ‘डमी राउण्ड’ र पेस्तोलबाट २ राउण्ड गोली चलेको भेटिएको छ।
गोलबजारमा प्रहरीका इन्स्पेक्टर सुदन केसी भिड नियन्त्रणमा खटिएका थिए । उनले बोकेको पेस्तोलबाट गोली चलेको छानबिन निष्कर्ष छ। प्रदर्शनकारीको मृत्यु भएपछि प्रहरी प्रधान कार्यालयले साउन १५ मा केसीलाई त्यहाँबाट हटाएको थियो ।
दुवै जिल्लामा झडप हुँदा भिडबाट पनि गोली चलाइएको अफवाह फैलिएको थियो । तर, छानबिन समितिले सुरक्षाकर्मी भन्दा बाहेक अन्यत्रबाट गोली चलेको नदेखिएको रिपोर्टमा उल्लेख गरेको छ।