जनकपुरधाम । रौतहटको मौलापुर नगरपालिकामा बारम्बार प्रमुख प्रशासकीय अधिकृत फेरिँदा विकास निर्माणको काम प्रभावित भएकोमात्र होइन, कर्मचारीले तलब खानसमेत वञ्चित हुनु परेको छ । चालु आर्थिक वर्षको बजेट कार्यान्वयन, विकास निर्माणका योजना अघि बढाउनु पर्ने समयमै नगरपालिका प्रमुख प्रशासकीय अधिकृतविहीन भएको छ ।
असार यता मौलापुर नगरपालिकामा दुई जना प्रशासकीय अधिकृत आइसके । तीमध्ये एक जना सरुवा मागेर अन्यत्र गएका छन् भने अर्काले स्वेच्छिक अवकाश लिएपछि अहिले नगरपालिका प्रशासकीय अधिकृतविहीन बन्न पुगेको हो ।
मौलापुर नगरपालिकाका मेयर रिनाकुमारी साहले प्रशासकीय अधिकृत नहुँदा विकास निर्माणको कामदेखि कार्यालय तथा वडामा हुनुपर्ने सबै काम प्रभावित बनेको गुनासो गरिन् । उनका अनुसार प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहको नेतृत्वको सरकार स्थानीय तहको सरकारलाई चलायमान बनाउने दिशामा उदासीन देखिँदै आएको छ ।
मौलापुरमा सुरेशबाबु घिमिरे वैशाख ३ गते प्रमुख प्रशासकीय अधिकृतका रूपमा आएका थिए । असार ११ गते उनी काठमाडौँ फर्किएसँगै उतैबाट सरुवा मिलाएर अन्यत्र जिल्ला गएका छन् । मेयर साहले भनिन्, ‘२ महिना यहाँ बस्दा उहाँ २० दिन जति कार्यालयमा हाजिर हुनुभयो । अन्य समय उहाँ जिल्ला बाहिरै रहनुभयो, उहाँले केही कामै गर्नुभएन ।’
घिमिरे गएको एक महिनापछि प्रमुख प्रशासकीय अधिकृतमा निलम घिमिरेलाई सामान्य प्रशासन मन्त्रालयले सरुवा गरेर पठाएको थियो । ‘एक महिना पनि काम नगर्दै उहाँले यही भदौ १० गते स्वेच्छिक अवकाश लिएको भन्ने मैले सुनेको छु,’ मेयर साहले रातोपाटीसँग भनिन् । घिमिरे पनि कार्यालयमा नियमित हाजिर नभई अधिकांश समय जिल्ला बाहिरै रहने गरेको उनको गुनासो छ ।
प्रमुख प्रशासकीय अधिकृत नहुँदा अहिले नगरभित्र निःशुल्क चल्ने एम्बुलेन्समा तेल समेत हाल्न नपाएको मेयर साहले बताइन् । ‘पछि दिन्छु भन्दै भनसुनको भरमा एम्बुलेन्स चलाइरहेको छु । प्रमुख प्रशासकीय अधिकृत छैन भन्दैमा जनतालाई दिने सेवा रोक्नु त भएन,’ उनले भनिन् । आफू पनि कहिलेकाहीँ कुनै प्रोग्राममा जानुपर्दा आफ्नै खर्र्चमा जाने गरेको उनले सुनाइन् ।
नगरपालिकामा चाँडै प्रशासकीय अधिकृत पठाइदिन आग्रह गर्नका लागि मन्त्रालयमा गएर दिनभरि कुरे पनि सङ्घीय मामिलामन्त्री प्रतिभा रावलसँग भेटघाट हुन नपाएको गुनासो पनि उनले गरिन् । उनका अनुसार प्रशासकीय अधिकृत नहुँदा गत आर्थिक वर्षमा ४/५ करोड रुपैयाँ फ्रिज भयो ।
मेयर साहले भनिन्, ‘घन्टीको सरकार आए यता मौलापुर नगरपालिकालाई झनै लथालिङ्ग बनाउने काम भएको छ । ३ महिनामै ३ जना प्रमुख प्रशासकीय अधिकृत फेरिएका छन् भने एकाउन्टेन्ट (लेखापाल) समेत छैन ।’ नगरपालिकाको खाता समेत सञ्चालन हुन नसक्दा सबै सेवा प्रभावित बनेको उनको गुनासो छ ।
यता उपमेयर नागेन्द्र साहले दुई महिनामा २ जना प्रमुख प्रशासकीय अधिकृत आए पनि जिम्मेवारी सम्हाल्ने आँट नदेखिएको बताए । उनले भने, ‘दसैँ–तिहार जस्ता मुख्य चाडपर्व आउन थाल्यो । कर्मचारीहरूले असारसम्मको तलबभत्तामात्र पाएका छन् । प्रशासकीय अधिकृत छैनन् । समयमा खाता नखोलिए चाडपर्वमा उनीहरूको तलबभत्ता रोकिने हुँदा यसको समस्या हामीले खेप्नुपर्छ ।’
उनका अनुसार जनप्रतिनिधिहरूले समेत चैत यताको सेवासुविधा पाउन सकेका छैनन् । उनले संघीय सरकारले यस्ता विषयमा ध्यान नै नदिएको गुनासो गर्दै भने, ‘प्रशासकीय अधिकृत चाँडै पठाइदिनु भन्नका लागि मन्त्रालय गएको थिएँ, तर कसैले ध्यान दिएनन् ।’
उपमेयर साहले सङ्घीय मामिलामन्त्री प्रतिभा रावलको राजनीतिक पूर्वाग्रहकै कारण मौलापुर नगरपालिका प्रमुख प्रशासकीय अधिकृतविहीन हुनु परेको आरोप लगाए ।
नगरपालिकमा प्रशासकीय अधिकृत नहुँदा नगरपालिकाभित्र नाला सरसफाई, विद्युत्, ग्राभेल हाल्ने लगायतका सबै काम ठप्पजस्तै बनेको जनप्रतिनिधि बताउँछन् । ९ वटा वडा रहेको मौलापुर नगरपालिकामा पतौरा, सोनरनिया, मर्यादापुर, पथरा (बुधराम) लगायतका साबिक गाविस समेटिएका छन् ।