वीरगन्ज । पर्साको पकहामैनपुर गाउँपालिकामा एक जना सर्वेक्षक पदका लागि प्रकाशित विज्ञापनमा दुई जनालाई नियुक्तिका लागि सिफारिस गरिएको विषयले कर्मचारी पदपूर्ति प्रक्रियामाथि गम्भीर प्रश्न उठाएको छ। यही प्रकरणमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवनाथ साहमाथि आर्थिक चलखेल गरेको आरोपसमेत लागेको छ।
गाउँपालिकाले प्रकाशित गरेको विज्ञापन नं. ०३/०८३–०८४ मा सर्वेक्षक पदका लागि एक जना मात्र माग गरिएको छ। तर गाउँपालिकाले प्रकाशित गरेको अन्तिम नतिजामा रोल नं. ३ का अभय प्रताप मण्डल धानुक र रोल नं. १६ का रोहित दास तत्मालाई नियुक्तिका लागि सिफारिस गरिएको उल्लेख छ। रोल नं. १० का सन्दिप कुमार प्रजापतिलाई वैकल्पिक उम्मेदवारका रूपमा राखिएको छ।
एक पदका लागि विज्ञापन गरेर दुई जनालाई नियुक्तिका लागि सिफारिस गरिएको विषयले पदपूर्ति प्रक्रियाको आधार र निर्णयमाथि प्रश्न उठाएको छ।
प्रकरणलाई थप गम्भीर बनाउने अर्को विषय गाउँपालिका अध्यक्ष सुरेश मेहताले लिखित रूपमा सूचना जारी गरी अन्तर्वार्ता तथा नियुक्ति प्रक्रिया स्थगित गर्न निर्देशन दिएको भनिएको विषय हो।
अध्यक्षको लिखित निर्देशन हुँदाहुँदै पनि प्रमुख प्रशासकीय अधिकृत साहले प्रक्रिया अघि बढाएको र अन्तिम नतिजा प्रकाशन गरी नियुक्तिका लागि सिफारिस गरेको आरोप लागेको छ।
यसले गाउँपालिकाको निर्वाचित नेतृत्वको लिखित निर्देशनभन्दा प्रमुख प्रशासकीय अधिकृतको निर्णय कसरी अघि बढ्यो? भन्ने प्रश्नसमेत उठाएको छ।
यसै प्रकरणमा प्रमुख प्रशासकीय अधिकृत देवनाथ साहमाथि आर्थिक चलखेल गरेको आरोपसमेत लगाइएको छ। तर आर्थिक लेनदेन भएको भन्ने आरोपको स्वतन्त्र पुष्टि भइसकेको छैन। त्यसैले आरोपको सत्यतथ्य सम्बन्धित निकायबाट छानबिन हुनुपर्ने देखिन्छ।
विशेषगरी एक पदको विज्ञापनमा दुई जनाको सिफारिस, अध्यक्षको लिखित स्थगन निर्देशनपछि पनि प्रक्रिया अघि बढेको भनिएको विषय र आर्थिक चलखेलको आरोप एकैपटक उठेपछि पदपूर्ति प्रक्रियामाथि निष्पक्ष छानबिनको आवश्यकता देखिएको छ।
अब प्रमुख प्रशासकीय अधिकृत साहले एक पदका लागि दुई जनालाई किन सिफारिस गरियो, अध्यक्षको लिखित निर्देशन हुँदाहुँदै प्रक्रिया किन अघि बढाइयो भन्ने विषयमा स्पष्ट जवाफ दिनुपर्ने देखिन्छ।
यता प्रमुख प्रशासकीय अधिकृत साहले कुनै आर्थिक चलखेल नभएको बताएका छन् ।