वीरगञ्ज । पर्सा जिल्लामा पर्यटन प्रवर्द्धन तथा पर्यटकहरूको सुरक्षा र सहजीकरणका लागि जिल्ला प्रहरी कार्यालय पर्साले नवीन पहल थालेको छ।
जिल्ला प्रहरी कार्यालय पर्साको पहलमा जिल्लाभित्र रहेका ऐतिहासिक, धार्मिक, पुरातात्त्विक तथा पर्यटकीय स्थलहरूको विस्तृत विवरण समेटिएको क्यु.आर. प्रणाली तथा अनलाइन साइट विकास गरिएको हो।
उक्त प्रणालीमार्फत पर्यटकहरूले सम्बन्धित पर्यटकीय स्थलहरूको परिचय, त्यहाँ पुग्न लाग्ने अनुमानित समय, वीरगञ्जबाट दूरी तथा यात्रा अवधि, सडक तथा यातायातको अवस्था, नजिक उपलब्ध होटल, रेष्टुरेन्ट तथा रिसोर्टहरूको सुविधा, नजिकको प्रहरी कार्यालय र सम्पर्क नम्बर, नजिकको अस्पताललगायत आवश्यक जानकारी सहज रूपमा प्राप्त गर्न सक्नेछन्।
यसका साथै सम्बन्धित गन्तव्यमा पुग्नका लागि आवश्यक गुगल नक्सा (Google Map) समेत समावेश गरिएको छ, जसले पर्यटकहरूलाई यात्रा व्यवस्थापनमा थप सहजता प्रदान गर्ने विश्वास गरिएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साले प्रविधिमैत्री सेवामार्फत पर्यटकहरूको सुरक्षा, सूचना पहुँच तथा पर्यटन क्षेत्रको प्रवर्द्धनमा टेवा पुर्याउने उद्देश्यले उक्त व्यवस्था सञ्चालनमा ल्याएको जनाएको छ।
यस पहलले पर्साका पर्यटकीय स्थलहरूको प्रचार–प्रसारमा सहयोग पुग्नुका साथै आन्तरिक तथा बाह्य पर्यटकलाई आवश्यक सूचना एकै स्थानबाट उपलब्ध गराई पर्यटन विकासमा सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ।