जनकपुरधाम । मधेस प्रदेशमा सत्ता साझेदार दल एमालेले सरकारप्रतिको समर्थन फिर्ता लिने चेतावनी दिएको छ । मुख्यमन्त्री कृष्णप्रसाद यादवले जनताको भावना अनुरूप काम गर्न नसकेको भन्दै एमाले असन्तुष्ट देखिएको हो ।
मधेस प्रदेश सभा, एमाले संसदीय दलका नेता सरोजकुमार यादवले सरकारको रवैया यस्तै रहे एमालेले समर्थन फिर्ता लिने चेतावनी दिए । पूर्वमुख्यमन्त्री समेत रहेका यादवले वर्तमान सरकार गठन पूर्व गरिएको सम्झौता, सहमति कार्यान्वयन गर्न मुख्यमन्त्री उदासीन देखिएको आरोप लगाए ।
कुरा गर्दै उनले भने, ‘सरकारमा जानुपूर्व मुख्यमन्त्रीसँग १५ बुँदे सम्झौता गरेका थियौँ । यतिका महिना बितिसक्यो, त्यो कार्यान्वयनमा उहाँले ध्यान दिनुभएन । सम्झौता गर्ने तर कार्यान्वयन नगर्ने हो भने सरकारमा बसिराख्नुको औचित्य छैन ।’
मुख्यमन्त्री अहिले विदेश भ्रमणमा रहेको जनाउँदै एमाले संसदीय दलका नेता यादवले मुख्यमन्त्री फर्किएपछि यो विषयमा एक पटक गम्भीर कुराकानी गर्ने बताए । ‘कुरा मिलेन भने एमालेले समर्थन फिर्ता लिन सक्छ,’ उनले भने ।
अन्य प्रदेशमा कांग्रेसलाई बाहिर राखेर वाम गठबन्धनको सरकार बनिसकेको प्रस्ट पार्दै यादवले भने, ‘हामीले मधेस प्रदेशमा पुरानै सरकारलाई निरन्तरता दिएका छौँ । सङ्घीयता ल्याउन हामी सबैको उत्तिकै ठुलो योगदान छ । त्यही भएर यो प्रदेशमा त्यस्तो किचलो नहोस् भनेर कांग्रेस नेतृत्वको सरकारलाई नै सहयोग जारी राखेका हौँ ।’
तर, सरकारमा जानुपूर्व आफूहरूले गरेको सहमति अनुरूप सरकारले कुनै काम नगरेको यादवको आरोप छ । ‘मुख्यमन्त्रीमाथि नै गम्भीर आरोप लाग्ने गरेको छ,’ उनले भने, ‘त्यो भ्रम हो कि यथार्थ हो भन्ने चिर्न पनि उहाँको ध्यान पुगेको छैन ।’
मुख्यमन्त्रीले बाहिर सार्वजनिक रूपमा उठेका विषयवस्तुमाथि प्रस्ट पार्नुपर्ने एमाले नेता यादवको भनाइ छ । मुख्यमन्त्रीमाथि मन्त्रालय घटाउन असहयोग गरेको र प्रशासनिक अनियमितता बढाएको लगायतका आरोप लाग्दै आएको छ ।
सरकारमा जानुपूर्व एमालेसँग भएको सम्भौतामा सरकार सञ्चालनका लागि सत्ताधारी दलहरूबिच आपसी समन्वय र उच्च समझदारी हुनुपर्ने, प्रदेशका अधुरा तथा अपुरा आयोजनाहरूलाई पूर्णता दिन प्राथमिकता दिने तथा परियोजना, योजनाहरूलाई मात्र आगामी बजेटमा समावेश गर्ने लगायतका विषय समेटिएका थिए ।
कर्मचारीको सरुवा–बढुवा तथा व्यवस्थापन प्रक्रियालाई पारदर्शी र व्यवस्थित बनाउनुपर्ने, प्रदेश सरकारका काम–कारबाहीमार्फत नागरिकलाई सुशासनको प्रत्यक्ष अनुभूति गराउने कार्ययोजना अघि सार्ने, वर्तमान राजनीतिक समीकरणलाई आगामी चुनावसम्मै दिगो र मजबुत बनाएर लैजाने लगायतका सहमति भएको थियो ।
यता, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले पनि सरकारलाई दिएको समर्थन फिर्ता लिन लागेको चर्चा चुलिएको छ । यद्यपि नेकपाले समर्थन फिर्ता नलिने अर्थमन्त्री युवराज भट्टराईले बताए । उनले भने, ‘सरकारको कामको रफ्तार अलि घटेको जस्तो देखिए पनि अहिले सरुवा, बढुवातर्फ केन्द्रित भएकाले असोजदेखि कामले गति लिन्छ ।’
एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिन लागेको भन्ने विषयबारे आफूलाई कुनै जानकारी नरहेको मन्त्री भट्टराईले बताए ।