सप्तरी । सप्तरीको बलान बिहुल गाउँपालिका–४ बेल्हीका एक युवक घरबाटै लगिएको घटनापछि स्थानीयवासी र आफन्तले प्रहरी चौकी घेराउ गर्दै तत्काल खोजी गर्न माग गरेका छन्।
स्थानीयका अनुसार सोमबार मध्यराति ६–७ जनाको समूह बेल्ही निवासी २४ वर्षीय अभिनन्द यादवको घरमा पुगेको थियो। परिवारका सदस्यलाई हतियार देखाएर उनीहरू सुतिरहेका अभिनन्दलाई नियन्त्रणमा लिएर लगेपछि घटनाले गाउँमा त्रास फैलिएको छ।
घटनापछि परिवारले प्रहरीलाई जानकारी गराए पनि तत्काल प्रभावकारी पहल नभएको आरोप लगाउँदै मंगलबार स्थानीयवासीले बेल्हीस्थित प्रहरी चौकी घेराउ गरेका हुन्। उनीहरूले अभिनन्दको अवस्था सार्वजनिक गर्न र घटनाको यथार्थ विवरण दिन माग गरेका छन्।
वडा नं. ४ का अध्यक्ष लक्ष्मीनारायण झाले गाउँमै नेपाल प्रहरी र सशस्त्र प्रहरीको सुरक्षा उपस्थिति हुँदाहुँदै घरबाटै युवक लगिनु गम्भीर सुरक्षा चुनौती भएको टिप्पणी गरे। उनले घटनाको सत्यतथ्य छानबिन गरी परिवारलाई यथाशीघ्र जानकारी गराउन जिल्ला प्रहरी प्रशासनसँग आग्रह गरेका छन्।
यता जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक हेमराज घिमिरेले युवकको खोजी तथा घटनाको अनुसन्धान भइरहेको बताए। प्रारम्भिक सूचनाअनुसार अभिनन्द भारतमा गम्भीर प्रकृतिको एक मुद्दासँग सम्बन्धित रहेको र भारतीय सुरक्षा निकायले नियन्त्रणमा लिएको हुन सक्ने सूचना प्राप्त भएको उनले बताए।
तर, घरमा आएको समूहले पेस्तोल देखाएको भन्ने दाबीबारे भने आधिकारिक पुष्टि हुन नसकेको प्रहरीले जनाएको छ। घटनाको वास्तविक अवस्था बुझ्न भारतीय सुरक्षा निकायसँग समन्वय भइरहेको जिल्ला प्रहरीले जानकारी दिएको छ।