वीरगञ्ज । अभियान डिजिटल वर्ल्डका सञ्चालक दिपेश वर्णवालमाथि हजारौँ सर्वसाधारण तथा आफ्नै साझेदारलाई ठगी गरेको आरोप लागेको छ। अभियान डिजिटल वर्ल्डमा सदस्यहरूबाट संकलन गरिएको रकम अन्य व्यवसायमा लगानी गरेको आरोपसमेत लागेको छ। पीडित सदस्यहरूले अभियान डिजिटल वर्ल्डबाट संकलित रकम ‘ऋषि आदिवासी’ नामको तेल व्यवसायमा लगानी गरिएको दाबी गरेका छन्।
पीडितहरूका अनुसार अभियान डिजिटल वर्ल्डले किस्ताबन्दीमा सामग्री उपलब्ध गराउने तथा बोनस र पुरस्कार दिने भन्दै सर्वसाधारणलाई सदस्य बनाएको थियो। सदस्यहरूले नियमित रूपमा किस्ता बुझाए पनि प्रतिबद्धताअनुसार करिब दुई वर्ष बित्न लाग्दा समेत सामग्री नपाएको गुनासो गरेका छन्।
पीडितहरूको दाबीअनुसार अभियान डिजिटल वर्ल्डमार्फत सदस्यहरूबाट उठाइएको रकम दुरुपयोग गरी ‘ऋषि आदिवासी’ तेल व्यवसाय विस्तार गरिएको छ। उक्त व्यवसायका वीरगञ्जको माइस्थानचौक लगायत देशको विभिन्न स्थानमा ८ देखि १० वटा शाखा सञ्चालनमा रहेको उनीहरूको दाबी छ।
पीडितहरूले अभियान डिजिटल वर्ल्डको रकम र उक्त तेल व्यवसायमा भएको भनिएको लगानीबीचको सम्बन्धबारे निष्पक्ष छानबिन गर्न माग गरेका छन्।
पीडित सदस्य तथा बजार प्रतिनिधिहरूका अनुसार करिब ८ हजार सदस्यबाट प्रतिव्यक्ति ३१ हजार ७२५ रुपैयाँका दरले करिब २५ करोड ३८ लाख रुपैयाँ संकलन भएको देखिन्छ। त्यसमध्ये करिब १ हजार २ सय सदस्यले अझै सामग्री पाउन बाँकी रहेको उनीहरूको दाबी छ।
पीडितहरूले दिपेश वर्णवाल र उनका छोरा तथा लेखापाल भनिएका योगेश वर्णवालको बैंक खाता, लेखा विवरण, लगानीको स्रोत, सम्पत्ति तथा कारोबारसम्बन्धी कागजात छानबिन गर्न माग गरेका छन्।
यसैबीच, बाँकी सदस्यलाई सामग्री उपलब्ध नगराई उनीहरूबाट संकलित रकम तेल व्यवसायमा लगानी गरिएको र त्यसपछि दिपेश तथा योगेश वर्णवाल सम्पर्कविहीन बनेको आरोप पीडितहरूले लगाएका छन्।
वर्णवाल बाबुछोरा सम्पर्कमा नरहेपछि सदस्य तथा बजार प्रतिनिधिहरू थप समस्यामा परेको उनीहरूको भनाइ छ। पीडितहरूले प्रशासनमा सामूहिक उजुरी दिएको जनाउँदै आफूहरूले बुझाएको रकमअनुसार सामग्री उपलब्ध गराउन वा रकम फिर्ता गर्न माग गरेका छन्।
त्यसैगरी, ठगी गर्ने नियतले दिपेश वर्णवालले आफ्नै छोरा तथा छोरी-ज्वाइँको नाममा पसल सञ्चालन गरी त्यसमार्फत समेत रकम लगानी गरेको आरोपसमेत पीडितहरूले लगाएका छन्।