रौतहट । रौतहटको मौलापुर नगरपालिकाकी नगर प्रमुख रिनाकुमारी साहले नगरपालिका प्रशासनिक र आर्थिक संकटमा परेको भन्दै प्रधानमन्त्री बालेन्द्र शाहको ध्यानाकर्षण गराउँदै तत्काल हस्तक्षेप गर्न आग्रह गरेकी छन्।
प्रधानमन्त्रीलाई सम्बोधन गर्दै सार्वजनिक गरिएको पाँचबुँदे अपिलमा नगर प्रमुख साहले प्रमुख प्रशासकीय अधिकृतको अभावका कारण नगरपालिका लामो समयदेखि प्रभावकारी रूपमा सञ्चालन हुन नसकेको उल्लेख गरेकी छन्। उनका अनुसार कर्मचारीको तलब, जनप्रतिनिधिको सेवा–सुविधा, विकास निर्माणको भुक्तानी, विद्युत् महसुल तथा सरसफाइजस्ता आधारभूत दायित्वसमेत पूरा गर्न कठिन भएको छ।
साहले संघीय सरकारबाट समयमै प्रमुख प्रशासकीय अधिकृत नखटाइँदा प्रशासनिक कामकाज ठप्पजस्तै बनेको दाबी गर्दै मौलापुरमा तत्काल स्थायी प्रमुख प्रशासकीय अधिकृत खटाउन माग गरेकी छन्।
अपिलमा उनले प्रधानमन्त्री शाह काठमाडौं महानगरपालिकाको प्रमुख रहँदा सफाइ कर्मचारीको तलब समयमै नदिए ‘टुकुचामा गाडिदिने’ अभिव्यक्ति दिएको प्रसंग स्मरण गराउँदै व्यंग्यात्मक प्रश्नसमेत उठाएकी छन्।
उनले लेखेकी छन्, “मौलापुरमा कर्मचारीको तलब दुईदेखि आठ महिनासम्म, जनप्रतिनिधिको सेवा–सुविधा चार महिना र वडा सञ्चालन खर्च आठ महिनादेखि रोकिएको छ। अब यसका लागि कसलाई लालबकैयामा गाड्ने भन्ने सल्लाह दिनुहोस्।”
नगर प्रमुख साहका अनुसार नयाँ सरकार गठनपछि नगरपालिका प्रशासनिक अवरोधमा परेको हो। यसअघि प्रत्येक वर्ष ९० प्रतिशतभन्दा बढी वित्तीय तथा भौतिक प्रगति हासिल गर्दै आएको नगरपालिकाले यस वर्ष प्रमुख प्रशासकीय अधिकृतको अभावका कारण १०औँ नगरसभा तथा बजेट पारित गर्ने प्रक्रिया समेत समयमै पूरा गर्न सकेन।
उनले आर्थिक वर्ष २०८२/८३ मा नगरपालिकाको बजेट खर्च ५०.६८ प्रतिशतमा मात्र सीमित भएको र समयमै प्रशासनिक नेतृत्व नपाउँदा करोडौँ रुपैयाँ बजेट खर्च हुन नसक्ने अवस्था सिर्जना भएको उल्लेख गर्दै समस्या समाधानका लागि संघीय सरकारको तत्काल पहल आवश्यक रहेको बताएकी छन्।