काठमाडौं । संघीय संसद्अन्तर्गत आज विभिन्न तीन संसदीय समितिका बैठक बस्दै छन्। बैठकहरूमा वित्तीय, शैक्षिक तथा नीतिगत विषयसँग सम्बन्धित महत्त्वपूर्ण विधेयक र कार्यसूचीमाथि छलफल हुने भएको छ।
संसद् सचिवालयका अनुसार बिहान १० बजे बस्ने अर्थ समिति को बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ संशोधन गर्न बनेको विधेयकसम्बन्धी समितिको प्रतिवेदनमाथि विस्तृत छलफल गर्ने कार्यसूची रहेको छ।
त्यसैगरी बिहान ९ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति को बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना तथा सञ्चालन) विधेयक, २०८१ माथि छलफल गरिनेछ। उक्त बैठक मंगलबार शिक्षामन्त्री अस्वस्थ भएका कारण स्थगित भएको थियो। आजको बैठकमा शिक्षामन्त्री, मन्त्रालयका सचिव तथा सम्बन्धित अधिकारीहरूलाई उपस्थित गराएर विषयमा छलफल गर्ने तयारी गरिएको छ।
यस्तै बिहान ११:१५ बजे बस्ने राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समिति को बैठकमा समितिका पूर्वसभापतिहरूसँग अनुभव आदान–प्रदान तथा कार्यान्वयनको अवस्थाबारे छलफल गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।
तीनवटै समितिका बैठकबाट सम्बन्धित विधेयक तथा नीतिगत विषयमा थप निर्णय र सुझाव आउने अपेक्षा गरिएको छ।