वीरगञ्ज । पर्साको वीरगञ्जस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालले प्रथम वर्षका स्नातकोत्तर आवासीय चिकित्सकलाई कलेज परिसरमा उपलब्ध गराइएको छात्रावास, क्वार्टर तथा अन्य आवासीय सुविधा खाली गर्न यसअघि तोकिएको समयसीमा तत्कालका लागि स्थगित गरेको छ।
कलेज प्रशासनले २०८३ साल असोज ५ गते जारी गरेको अत्यन्त जरुरी सूचनामार्फत प्रतिकूल मौसम, भारी वर्षा तथा बाढीको जोखिमलाई मध्यनजर गर्दै चिकित्सकहरूको सुरक्षाका लागि समयसीमा स्थगित गरिएको जनाएको हो।
यसअघि प्रधानाचार्य कार्यालयले प्रथम वर्षका स्नातकोत्तर आवासीय चिकित्सकलाई कलेजबाट उपलब्ध गराइएको छात्रावास, क्वार्टर तथा अन्य आवासीय सुविधा १२ घण्टाभित्र खाली गर्न सूचना जारी गरेको थियो।
तर जिल्ला प्रशासन कार्यालय, पर्साले प्रतिकूल मौसम, भारी वर्षा तथा बाढीको जोखिमलाई मध्यनजर गर्दै जारी गरेको सतर्कता सूचनापछि कलेज प्रशासनले उक्त समयसीमा हाललाई स्थगित गरेको जनाएको छ।
कलेज प्रशासनका अनुसार मौसम तथा अवस्था सामान्य भएपछि कलेज परिसर तथा छात्रावास खाली गर्नुपर्ने नयाँ समयसीमा थप सूचनामार्फत जानकारी गराइनेछ।
कलेजले यस अवधिमा सम्बन्धित सबैलाई आवश्यक सतर्कता अपनाउन तथा जिल्ला प्रशासन कार्यालय, पर्सा र अन्य सम्बन्धित निकायबाट जारी हुने सुरक्षा निर्देशनहरूको पालना गर्नसमेत अनुरोध गरेको छ।
यस निर्णयसँगै तत्कालका लागि छात्रावास तथा अन्य आवासीय सुविधा खाली गर्नुपर्ने दबाबमा रहेका सम्बन्धित आवासीय चिकित्सकलाई राहत मिलेको छ। कलेज प्रशासनले भने मौसमको अवस्था सामान्य भएपछि नयाँ समयसीमा तोकेर पुनः सूचना जारी गर्ने जनाएको छ।